• ८ असोज २०८२, बुधबार

टोपबहादुर रायमाझी कारागार फिर्ता

blog

पूर्वमन्त्री टोपबहादुर रायमाझी । फाइल तस्बिर

काठमाडौँ, असोज ७ गते । जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले २४ गते कारागारबाट निस्किएका रायमाझी आज केन्द्रीय कारागारमा उपस्थिति भएको जानकारी दिनुभयो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले रायमाझीलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । कारागार व्यवस्थापन विभागका अनुसार आजसम्म कारागारबाट भागेका छ हजार ८४६ तथा सुधार गृहतर्फका ३४१ जनासहित कूल सात हजार १०७ कैदीबन्दी कारागारमा फिर्ता भएका छन् ।

पछिल्लो २४ घण्टामा १२३ जना कारागारमा फिर्ता भएका छन् । पछिल्लो तीन दिनमा ७७९ कैदीबन्दी कारागार फिर्ता भएका छन् । कारागार विभागका अनुसार अझै सात हजार ३०६ कैदीबन्दी फरार रहेका छन् । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए । देशभर ३० हजार ६४० कैदीबन्दी थिए । जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड आगजनी हुँदा कैदीबन्दी भागेका थिए ।