• ८ असोज २०८२, बुधबार

घुमाउनेमा फस्टाउँदै तरकारी खेती

blog

बारीमा तरकारी लगाउँदै तथा गोड्दै स्थानीय ।

कविराज घिमिरे 

हिले, असोज ८ गते । धनकुटाका धेरै गाउँ बस्ती युवाविहीन हुँदा जिल्लाको महालक्ष्मी नगरपालिका वडा १ उच्च क्षेत्रका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् । 

यो क्षेत्रका स्थानीयलाई न त वैदेशिक रोजगारीको मोह छ न स्थानीय सो स्थान छाडेर सुविधा सम्पन्न स्थानमा बसाइ सर्न चासो नै छ । यो सबैको कारण हो सो क्षेत्रमा हुने तरकारी खेती । 

धनकुटाको महालक्ष्मी नगरपालिका वडा १ उच्च क्षेत्रका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत नै तरकारी बाली हो । तरकारी बालीकै कारण आफूहरूले अन्य विकल्पको बारेमा सोच्न आवश्यक नहरेको स्थानीय देवी गुरुङ बताउनुहुन्छ । सबै कुराको आबश्यक्ता तरकारी खेतीले पूरा गरिदिएका कारण विदेश बराइसराइँ लगायतको कुरा सोच्न नपरेको उहाँको तर्क छ । 

यो वडाका उच्च क्षेत्रका चित्रे, घुमाउने र जोर थुम्की गरी तिन गाउँमा करिब ३५० परिवारको बसोबास छ । सबै कृषक तरकारी खेतीमा लागेका छन् । अन्यत्र कामदारको समस्या हुँदा यहाँ कामदारको समस्या छैन । जसले गर्दा यो क्षेत्रमा न त कहिल्यै खेतबारी बाँझो रहन्छ न कहिले काम गर्ने व्यक्तिको समस्या छ । अर्मपर्म गरेर सबैले एक अर्काको बाली लगाउन गोड्न र बाली उठाउन सहयोग गर्छन् । एक अर्काको काम वरिपरि रहेका सबै छिमेकी मिलेर पालो पालो गर्दै गर्ने गरेको स्थानीय बेनुका गुरुङ बताउनुहुन्छ । “सबैकोमा एकै प्रकारको काम हुन्छ सबैले काम गर्नैपर्ने हुन्छ त्यसैले आफु आफू गर्न भन्दा सामूहिक रूपमा काम गर्ने गरेको छौं,” गुरुङ भन्नुहुन्छ ।

पहिले पहिले आलु मात्र उत्पादन हुने यो क्षेत्रमा करिब २०६० पछि मात्र व्यावसायिक रूपमा तरकारी खेती हुन थालेको हो । अहिले यहाँ आलुसँगै बन्दा फुलकोभी, मुला मटरकोसा उत्पादन हुन्छ । यहाँका एकै कृषकले वार्षिक पाँचखाल रुपियाँदेखि ३० लाख रुपियाँसम्मको तरकारी बिक्री गर्दै आएका स्थानीय कृषक तथा महालक्ष्मी नगरपालिका वडा १ वडाध्यक्ष टेकबहादुर गुरुङ बताउनुहुन्छ । यही क्षेत्रबाट मात्र वार्षिक बिस करोडभन्दा बढीको तरकारी निकासी हुने गरेको उहाँको दाबी छ । 

धनकुटामा कुल पाँच हजार नौ सय ९७ हेक्टर क्षेफलबाट एक लाख ३७ हजार ४ सय ४७ मेट्रिक टन तरकारी बाली उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जसमध्ये ३५ सय हेक्टरभन्दा बढी क्षेत्रमा उच्च क्षेत्रमा मात्र तरकारी खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । यहाँ उत्पादन हुने तरकारी तराइको झापा, मोरङ, सुनसरीसहित भारतीय सीमावर्ती बजारसम्म पुग्ने गरेको छ।