क्यानबेरा, असोज ८ गते । अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्त महिनामा बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च दर हो । यो वृद्धि महँगीको चपेटामा परिरहेको आम जनजीवनका लागि थप दबाबको सङ्केत हो ।
अस्ट्रेलियाको तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, उपभोक्ता मूल्य सूचकाङ्क पछिल्ला १२ महिनामा तीन प्रतिशतले बढेको छ, जुन अघिल्लो महिना अगस्तमा २.८ प्रतिशत र जुलाईमा १.९ प्रतिशत मात्र थियो । यो वृद्धिदर सन् २०२४ सालको अगस्त महिनापछिको सबैभन्दा उच्च दर हो, जब महँगी दर ३.५ प्रतिशत पुगेको थियो ।
तथ्याङ्क कार्यालयका अनुसार महँगी बढ्नुमा मुख्य योगदान आवास खर्चमा ४.५ प्रतिशत वृद्धि, खाद्य र नरम पेय पदार्थमा ३ प्रतिशत वृद्धि तथा चुरोटमा ६ प्रतिशत वृद्धि रहेको छ । बिजुली महसुल भने झनै बढी २४.६ प्रतिशतले बढेको छ । सरकारी राहत योजना समाप्त भएपछि यो वृद्धिदर देखिएको हो । राहतको प्रभाव हटाएर हेर्दा बिजुलीको मूल्यवृद्धि ५.९ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ ।
राष्ट्रिय बैँकले प्राथमिकता दिने आधारभूत महँगी दर अगस्त महिनामा २.६ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतले घटेको हो । अस्ट्रेलियाको मौद्रिक नीति समितिले अगस्तमै सार्वजनिक गरेको अनुमान अनुसार, हालको आधा वर्षमा महँगी दर ३ प्रतिशतभन्दा माथि पुग्ने छ र मात्र २०२७ सालको मध्यतिर दुईदेखि तीन प्रतिशतको लक्ष्य भित्र फर्किने छ । त्यसै गरी, आधारभूत महँगी दर भने २०२६ र २०२७ सालभर स्थिर रहने अनुमान गरिएको छ । रासस/सिन्ह्वा