सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), असोज ८ गते । धनकुटामा चाडपर्व लक्षित गरी बजार अनुगमन गरिएको छ । बजार क्षेत्रका सञ्चालित किराना, होटल र मासु पसल गरी करिब ४१ वटा पसलहरू अनुगमन गरिएको छ ।
बुधबार धनकुटा नगरपालिका–६ र ७ साथै वडा नम्बर ९ मा पर्ने मुलघाटको बजार पसल अनुगमन गरिएको हो । बजार अनुगमनका क्रमामा विभिन्न अखाद्य वस्तु तथा पेय पदार्थ भेटिएको छ । म्याद गुज्रिएका पेय पदार्थमा स्प्राइट, ड्यू, कोक, फेन्टा र फ्रुटी लगायतका वस्तु भेटिएको छ । यस्तै, अखाद्य वस्तु बिस्कुट, चिप्स, बेकरीजन्य वस्तु, आँटा, प्याकेजिङ जन्य खाद्यान्न समेत भेटिएको छ ।
सोहीअनुसार अखाद्य वस्तुमा उत्पादन र समापन म्याद नराखिएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार होटलमा पुनः प्रयोग गरिएको १४ लिटर तोरीको तेल समेत भेटिएको थियो । अनुगमनमा २० होटल, ३ मिठाइ पसल, खाद्य तथा किराना पसल १५ र मासु पसल ३ गरी जम्मा ४१ पसल रहेका छन् । कतिपय पसलमा मूल्यसूची नराखिएको र राख्न आग्रह गरिएको बताउनुभयो ।
यस्तै, अखाद्य वस्तु बेचबिखन नगर्न नगराउन र आगामी दिनमा गर्ने गरेको पाइएमा कारबाही हुने भनेर सचेत गराइएको छ । धनकुटा नगरपालिका –६ र ७ बजार, बसपार्क र नगरपालिका–९, मुलघाटका किराना पसल, होटल र मासु पसलमा अनुगमन गरिएको छ ।
धनकुटा नगरपालिकको नेतृत्वमा जिल्ला प्रशान कार्यालय धनकुटा, उद्योग वाणिज्य सङ्घ, कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालयका पदाधिकारीले सामुहिक रूपमा बजार अनुगम गरेका थिए । पसलबाट करिब ४३ हजार ४ सय मूल्य बराबरको सामान जफत गरिएको छ ।