• ८ असोज २०८२, बुधबार

सरकारी सम्पत्तिको व्यवस्थापन : विषयगत प्रश्नोत्तर

blog

सरकारी सम्पत्तिको व्यवस्थापन 

१. सरकारी सम्पत्ति भन्नाले के बुझिन्छ ? नेपालमा सरकारी सम्पत्तिको उचित व्यवस्थापन र उपयोगमा देखिएका समस्याहरू पहिचान गरी समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् ।

सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सम्पत्तिलाई सरकारी सम्पत्ति भनिन्छ । सरकारी सम्पत्तिमा सङ्घ वा प्रदेश वा स्थानीय तहको हक, स्वामित्व र नियन्त्रण रहन सक्छ । सरकारी भवन, जग्गा, औजार उपकरण, सडक, बाटो, रेल्वे, वन, जङ्गल वा वन जङ्गलमा रहेको रुख, खानी वा खनिज पदार्थ आदि सरकारी सम्पत्तिका उदाहरण हुन् । मुलुकी देवानी संहिताले सरकारी सम्पत्तिको परिभाषालाई व्यापक बनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले सरकारी जिन्सी तथा सम्पत्तिको लेखाङ्कन र प्रतिवेदन गर्ने व्यवस्था गरेको छ । विद्यमान अभ्यास अनुसार सरकारी कोषबाट खरिद गरिएका वा अन्य निकायबाट हस्तान्तरण भएर आएका खर्च भएर जाने र खर्च भएर नजाने प्रकृतिका सम्पत्तिहरू सरकारी सम्पत्तिको रूपमा लेखाङ्कन र प्रतिवेदन हुने गरेको छ । सरकारको स्वामित्वमा रहेका खानी तथा खनिज पदार्थ, वन तथा वनमा रहने रुखहरू, सडक आदिलाई सरकारी सम्पत्तिको रूपमा लेखाङ्कन र प्रतिवेदन गर्ने कार्य हुन सकेको छैन । सरकारी सम्पत्ति व्यवस्थापन र उपयोगमा देखिएका समस्या र समाधानका उपायहरूलाई देहायबमोजिम प्रस्तुत गरिएको छ ः

क) समस्याहरू :

सरकारी सम्पत्तिको परिभाषा र यसले समेट्ने क्षेत्रहरू स्पष्ट बनाई सोही अनुरूप लेखाङ्कन र प्रतिवेदन हुन नसक्नु, 

सरकारी सम्पत्ति व्यवस्थापन र उपयोगसम्बन्धी स्पष्ट नीतिको अभाव हुनु,

सरकारी सम्पत्तिको एकीकृत विवरण र अभिलेख तयार हुन नसक्नु,

सरकारी सम्पत्ति व्यवस्थापनका लागि विकसित गरिएको विद्युतीय प्रणाली –पाम्स) मा सबै सार्वजनिक निकायहरू आबद्ध नहुनु र प्रयोगमा आउन नसक्नु,

पाम्स प्रणालीमा आबद्ध निकायहरूले पनि प्रणालीलाई आंशिक रूपमा मात्र उपयोग गर्नु,

पाम्स सञ्चालन तथा सम्पत्ति व्यवस्थापनको जिम्मेवारीमा रहने एकाइ वा जनशक्तिको क्षमता कमजोर रहनु,

सार्वजनिक निकायमा मालसामानको मर्मत सम्भार र लिलाम बिक्रीभन्दा नयाँ मालसामान खरिद गर्न जोड दिने प्रवृत्ति देखिनु,

सार्वजनिक खरिद ऐनमा व्यवस्था गरिएको वाई व्याक मेडथलाई प्रभावकारी रूपमा प्रयोग गरी पुराना सामग्रीको उचित व्यवस्थापन गर्न नसक्नु,

सरकारी सम्पत्ति व्यक्तिगत कार्यमा उपयोग हुनु,

सरकारी सम्पत्ति संरक्षणमा सम्बन्धित निकायको प्रमुख र जिम्मेवार कर्मचारीलाई जवाफदेही बनाउन नसकिनु,

सरकारी सम्पत्ति संरक्षणमा आमनागरिकको चासो र चिन्ता न्यून रहनु,

बन्द, हड्ताल तथा विरोध प्रदर्शन हुँदा सरकारी सम्पत्तिलाई आक्रमणको निशाना बनाउने प्रवृत्ति देखिनु,

सरकारी भवन तथा संरचनाहरूको बिमा गर्ने अभ्यास नहुँदा यस्ता सम्पत्ति माथि आक्रमण वा तोडफोड भएमा पुनर्निर्माणको लागि राज्य कोषमा अत्यधिक भार पर्नु, 

सरकारी सम्पत्तिको हिनामिना, दुरुपयोग र अतिक्रमणसम्बन्धी एकीकृत विवरण तयार हुन नसक्नु ।

ख) समस्या समाधानका उपाय :

सरकारी सम्पत्तिको फराकिलो र स्पष्ट परिभाषा गरी सोहीबमोजिम लेखाङ्कन र प्रतिवेदन प्रणाली विकास गर्ने,

सरकारी सम्पत्तिको संरक्षण तथा सुविधा उपयोगसम्बन्धी सङ्घीय नीति र मापदण्ड निर्माण गरी तिनै तहका सरकारले कार्यान्वयनमा ल्याउने,

सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोगको अवस्थालाई कर्मचारी र कार्यालय प्रमुखको वार्षिक कार्यसम्पादन मूल्याङ्कन, दण्ड पुरस्कार र वृत्ति विकाससँग आबद्ध गर्ने,

सरकारी सम्पत्ति हिनामिना, दुरुपयोग, अतिक्रमण सम्बन्धमा विस्तृत अध्ययन अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने,

पुराना सामग्रीलाई समयमै मर्मत गरी उपयोग गर्ने तथा समयमै लिलाम बिक्री गरी सरकारी आम्दानी बढाउन जोड दिने,

‘बाई ब्याक मेथड’ को प्रभावकारी उपयोग तथा लिलाम बिक्री सम्बन्धमा देखा परेका जटिलताहरू सम्बोधन गर्न नीतिगत तथा कार्यविधिगत सुधार गर्ने,

महत्वपूर्ण सरकारी सम्पत्तिको बिमा गरी आर्थिक जोखिम हस्तान्तरण गर्न सकिने हुँदा यस सम्बन्धमा आवश्यक अध्ययन गर्ने,

पाम्सलाई सबै सार्वजनिक निकायमा अनिवार्य रूपमा लागु गर्ने, सोका लागि आवश्यक पर्ने पूर्वाधारमा लगानी गर्ने,

पाम्सको प्रणालीगत क्षमता विकास गर्नुका साथै यसको पूर्ण रूपमा प्रयोग गर्न कर्मचारीको समेत क्षमता विकास गर्ने,

व्यवस्थापन परीक्षणको दायरा विस्तार गरी सबै निकायमा लागु गर्ने,

कार्यमूलक लेखापरीक्षणलाई सघन रूपमा अगाडि बढाउने,

राष्ट्रिय सदाचार नीति तर्जुमा गरी लागु गर्ने र सङ्गठनभित्र सदाचारयुक्त सङ्गठन संस्कृति विकास गर्ने,

नागरिक शिक्षा र नैतिक शिक्षामा जोड दिई नागरिक सचेतना अभिवृद्धि गर्ने, 

सरकारी सम्पत्ति संरक्षण र सदुपयोगमा नागरिक संलग्नतालाई प्रोत्साहन गर्दै आन्तरिक नियन्त्रण सँगसँगै नागरिक नियन्त्रण प्रणाली मजबुत बनाउने ।

अन्त्यमा सरकारी सम्पत्ति सार्वजनिक प्रशासन सञ्चालनका लागि आवश्यक पर्ने भौतिक स्रोतसाधन हुन् । सार्वजनिक प्रशासनको लक्ष्य एवं उद्देश्य हासिल गर्न यी सम्पत्ति सहयोगी हुन्छन् । सरकारी कोषबाट खरिद गरिने र सार्वजनिक हितका लागि उपयोग हुने हुँदा यस्ता सम्पत्तिहरू सरकार र नागरिकका साझा सम्पत्ति हुन् । सरकारी सम्पत्ति संरक्षण र सदुपयोगमा सरकारी निकाय र नागरिक दुवैको सकारात्मक र रचनात्मक भूमिका आवश्यक छ ।


२. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ मा व्यवस्था गरिएका प्रशासनिक कार्य सञ्चालनका आधार उल्लेख गर्नुहोस् । साथै सार्वजनिक प्रशासन सञ्चालनका सन्दर्भमा प्रचलित रहेको कार्यसम्पादन करारसम्बन्धी कानुनी व्यवस्थामाथि प्रकाश पार्नुहोस् ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनबमोजिम प्रशासनिक कार्य सञ्चालन गर्दा सो कार्यसम्पादन गर्ने पदाधिकारीले देहायका आधारहरू लिनु पर्छ ः

राष्ट्र जनताको बृहत्तर हित,

समन्याय र समावेशीकरण,

कानुनको शासन,

मानव अधिकारको प्रत्याभूति,

पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता तथा इमानदारिता,

आर्थिक अनुशासन एवं भ्रष्चारमुक्त, चुस्त र जनमुखी प्रशासन,

प्रशासन संयन्त्रको तटस्थता तथा निष्पक्षता,

प्रशासनिक संयन्त्रमा र निर्णयमा सर्वसाधारण जनताको पहुँच,

विकेन्द्रीकरण तथा अधिकार निक्षेपण,

जनसहभागिता तथा स्थानीय स्रोतको अधिकतम उपयोग

कार्यसम्पादन करार सम्बन्धमा सुशासन –व्यवस्थापन तथा सञ्चालन) ऐनले गरेको व्यवस्था :

क) कार्यसम्पादन करार गर्न सकिने अवस्था :

देहायको अवस्थामा नेपाल सरकारको कुनै 

पदाधिकारीसँग कार्यसम्पादन करार गरी जिम्मेवारी दिन सकिन्छ ।

नेपाल सरकारले सम्पादन गर्नुपर्ने काम कुनै निश्चित अवधिभित्र सम्पादन गरिसक्नुपर्ने भएमा, 

निश्चित परिमाणको उपलब्धि हुने गरी कार्यसम्पादन गर्नुपर्ने भएमा, राष्ट्रिय प्राथमिकता प्राप्त कुनै आयोजना वा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने भएमा ।

ख) कार्यसम्पादन करार कार्यान्वयन प्रक्रिया :

कार्यसम्पादन करारमा अन्य कुराको अतिरिक्त पदाधिकारीले गर्नुपर्ने कामको विवरण, समयावधि, कार्यसम्पादनको गुणस्तर र परिमाण उल्लेख गरिने,

कार्यसम्पादन जिम्मेवारी प्राप्त गरेको पदाधिकारीले करारबमोजिम कार्यसम्पादन गर्नुपर्ने,

काबु बाहिरको परिस्थिति निर्माण भई तोकिएको समयावधिभित्र कार्यसम्पादन हुन नसकेमा सोको कारणसहित मन्त्रालयको सचिवसमक्ष पेस गर्ने,

पेस भएको व्यहोरा मानसिब देखिएमा समयावधि थप गरी कार्यसम्पादन करार संशोधन गर्न सकिने,

निर्धारित अवधिभित्र कार्यसम्पादन गर्न नसक्ने पदाधिकारीलाई विभागीय कारबाही गर्नुपर्ने,

बदनियत चिताइ, लापरबाही वा हेलचेक्र्याइँ गरी कार्यसम्पादन नगरेको कारणले सरकारलाई हानि पुगेमा वा आयोजनाको लागत बढेमा सोको क्षतिपूर्ति निजबाट भराउन सकिने ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले मुलुकको प्रशासन संयन्त्रलाई सेवा प्रदायक संयन्त्र तथा सहजकर्ताको रूपमा रूपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति गराउन जोड दिएको छ । ऐनमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न सकेमा मात्र पनि मुलुकको सुशासनको अवस्थामा सुधार गर्न सकिन्छ । 


३. धितोपत्र बजार भनेको के हो ? धितोपत्र बजारको महìवमाथि प्रकाश पार्दै नेपालको धितोपत्र बजारलाई नियमित र व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डका जिम्मेवारीहरू उल्लेख गर्नुहोस् ।

सरकार तथा सङ्गठित संस्थाहरूले आफूलाई आवश्यक पर्ने पुँजी सङ्कलनका लागि जारी गर्ने वित्तीय औजारलाई धितोपत्र भनिन्छ । सरकार तथा सङ्गठित संस्थाहरूद्वारा निष्कासन वा बिक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषको एकाङ्कलगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् । धितोपत्र खरिदकर्ता र बिव्रmेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय गर्न सकिने स्थानलाई धितोपत्र बजार भनिन्छ । सरकार वा सङ्गठित संस्थाले आफ्नो दीर्घकालीन वित्तीय आवश्यकता पूर्ति गर्न यस प्रकारका धितोपत्रहरू जारी गर्दछन् । धितोपत्र बजारमा धितोपत्रको कारोबार हुने गर्छ ।

धितोपत्र बजारको महत्व :

दीर्घकालीन पुँजीको प्रभावकारी परिचालन गर्न,

सरकार र सङ्गठित संस्थालाई आवश्यक पर्ने दीर्घकालीन पुँजीको व्यवस्था गर्न,

बचत परिचालन तथा लगानी वृद्धि गर्न,

देशभित्र उद्योग कलकारखाना र पूर्वाधारको विकास गर्न,

वित्तीय प्रणालीको सन्तुलित एवं एकीकृत विकास गर्न,

देशको अर्थतन्त्र विकास र विस्तारको प्रतिफल सर्वसाधारणमा समान रूपमा वितरण गर्न,

कम लागतमा पुँजी परिचालनको व्यवस्था गर्न,

खुला बजार अर्थतन्त्रलाई सुदृढ गर्न ।

नेपाल धितोपत्र बोर्डका जिम्मेवारी :

नेपालमा धितोपत्र बजारलाई नियमित र व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले सम्पादन गर्ने मुख्य जिम्मेवारीहरू यस प्रकार रहेका छन् :

पुँजी बजारको विकाससँग सम्बन्धित विषयमा नेपाल सरकारलाई आवश्यक परामर्श दिने,

सार्वजनिक निष्कासन गर्ने सङ्गठित संस्थाको धितोपत्र दर्ता गर्ने, धितोपत्र निष्कासन, हस्तान्तरण, बिक्री र विनिमयलाई नियमित र व्यवस्थित गर्ने,

धितोपत्र बजार सञ्चालन गर्न चाहने सङ्गठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्न अनुमति दिने,

धितोपत्र व्यवसाय सञ्चालन गर्न चाहने कम्पनी वा संस्थालाई धितोपत्र सञ्चालन गर्न अनुमतिपत्र दिने,

धितोपत्र बजार र धितोपत्र व्यवसायीको कामकारबाहीको नियमन तथा अनुगमन गर्ने,

सामूहिक लगानी योजना तथा लगानी कोष कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने,

धितोपत्र व्यवसायी, धितोपत्र कारोबार तथा समग्र धितोपत्र बजारको सुपरीवेक्षण गर्ने,

नियमन व्यवस्थाको पालना नगर्ने संस्थाहरूलाई ऐन, नियम अनुसार कारबाही अगाडि बढाउने,

धितोपत्र कारोबारसम्बन्धी हिसाब राफसाफ गर्ने कामलाई नियमित र व्यवस्थित गर्ने,

धितोपत्र लगानीकर्ताको हितको संरक्षण गर्नका लागि धितोपत्रको भित्री कारोबार वा धितोपत्र कारोबारसम्बन्धी अन्य कसुर हुन नदिन आवश्यक व्यवस्था गर्ने,

धितोपत्र बजारको प्रवर्धन, संवर्धन र स्वच्छ सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने,

धितोपत्र तथा धितोपत्र बजार विकासका सम्बन्धमा आवश्यक अन्य कार्यहरू गर्ने,

अन्त्यमा धितोपत्र बजार मुलुकको वित्तीय प्रणालीको अभिन्न अङ्ग हो । मुलुकको अर्थतन्त्रको विकास र विस्तारका लागि आवश्यक पर्ने दीर्घकालीन पुँजीको माग पूर्ति गर्न यस बजारको महìव उच्च रहन्छ । धितोपत्र दर्ता, निष्कासन, खरिद, बिक्री तथा विनिमय लगायतका समग्र प्रव्रिmयालाई सहज, सरल र न्यून लागतयुक्त बनाउँदै बजारलाई नियमित र व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डले जोड दिनु पर्छ ।


४. नेपाल सरकारले नियुक्त गर्ने सल्लाहकारको योग्यता र निजले पालना गर्नुपर्ने आचरण सम्बन्धमा प्रचलित कानुनमा रहेको व्यवस्था स्पष्ट पार्नुहोस् ।

निजामती सेवाको पदबाट कार्यसम्पादन हुन नसक्ने विषयमा विशेषज्ञ सेवा प्राप्त नेपाल सरकारले आवश्यकता अनुसार विषयगत सल्लाहकारहरू नियुक्त गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । सल्लाहकारले सम्पादन गर्ने कार्य, निजको पदावधि तथा कर्तव्य, अधिकार र जिम्मेवारी, निजको पारिश्रमिक र सुविधाका विषयहरू नियुक्तिका बखत स्वीकृत गरिएको कार्य क्षेत्रगत सर्तबमोजिम हुने व्यवस्था छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन र सोको नियमावलीबमोजिम नेपाल सरकारको सल्लाहकारको पदमा नियुक्तिका लागि देहायका योग्यता आवश्यक मानिएको छ ।

सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको, प्रमुख राजनीतिक सल्लाहकारको हकमा राजनीतिक क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको,

सम्बन्धित विषयको विशेषज्ञको रूपमा पहिचान भएको,

नेपालको नागरिक,

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको,

कुनै सरकारी वा अर्ध–सरकारी क्षेत्रमा बहालवाला कर्मचारी नभएको,

सरकारी, नेपाल सरकारको सङ्गठित संस्था वा स्थानीय तहसँग बेरुजु तथा बाँकी बक्यौता नभएको ।

सल्लाहकारले पालना गर्नुपर्ने आचरण :

अनुशासनमा रही इमानदारी र तत्परताको साथ आफ्नो कर्तव्य पालना गर्ने,

व्यावसायिक निष्ठा कायम राख्दै नियुक्ति गर्दाका बखत तोकिएका सर्तहरू पालना गर्ने,

निजामती कर्मचारी माथि कुनै किसिमको राजनीतिक प्रभाव नपार्ने र निजको कार्यसम्पादनमा हस्तक्षेप नगर्ने,

नेपाल सरकारको नीतिविपरीत हुने वा सरकार र जनताबिचको पारस्परिक सम्बन्धमा वा विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पुग्ने गरी सरकारको आलोचना वा समाचार प्रकाशन नगर्ने,

सरकारी कामको सिलसिलामा दान, उपहार, चन्दा आदि प्राप्त नगर्ने,

आफ्नो सम्पत्ति विवरण नियुक्ति भएको सात दिनभित्र सम्बन्धित सचिवसमक्ष पेस गर्ने,

आफ्नो स्वार्थ बाझिएको वा हित, सरोकार र स्वार्थ रहेको विषयमा सल्लाह नदिने,

गोप्यता भङ्ग नगर्ने ।

अन्त्यमा सरकारलाई आवश्यकता अनुसार तटस्थ रूपमा विज्ञ सल्लाह दिने र सरकारको नीति कार्यान्वयन गर्ने स्थायी र वैधानिक संयन्त्र भनेको निजामती सेवा हो । निजामती सेवाभित्रबाट कार्यसम्पादन हुने नसक्ने विषयमा विशेषज्ञ सेवा प्राप्त गर्नु परेमा मात्र बाह्य व्यक्तिबाट सल्लाह लिने गरी सल्लाहकार नियुक्ति गर्न सकिन्छ । निजामती सेवाभित्रको विशेषज्ञता सम्बन्धमा एकीकृत तथ्याङ्क र जानकारी नहुँदा सरकारले सल्लाहकारको रूपमा बाह्य व्यक्ति नियुक्त गर्नु परेको छ र सोबाट राज्यकोष माथि करोडौँको व्ययभार हुने गरेको छ । सरकारी खर्चमा मितव्ययितता र प्रभावकारिता अभिवृद्धिका लागि समेत सल्लाहकार नियुक्ति गर्दा उल्लिखित कुरामा विचार गर्नु उपयुक्त देखिन्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा