• ८ असोज २०८२, बुधबार

शीर्ष नेतालाई पद छाड्न दबाब

blog

कांग्रेसमा विशेष महाधिवेशनको माग 

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ८ गते । नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशन माग राख्दै हस्ताक्षर अभियान प्रारम्भ गरेका छन् । कांग्रेस नेताहरूले हस्ताक्षर अभियान प्रारम्भ गर्दै इतिहासको संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकाल्न विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका हुन् । 

कांग्रेसका १०९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन प्रक्रिया थाल्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । विषम परिस्थिति र सङ्कटबाट नेपाली कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समिति मात्र होइन, हाम्रो पनि उत्तिकै दायित्व हो ।”

विज्ञप्तिमा पार्टीको अवस्था र नेतृत्वमाथि उठेका विभिन्न प्रश्न निरूपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशन आवश्यकता महसुस गरिएको प्रस्ट पारिएको छ । विज्ञप्तिमा भनिएको छ, “वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकारसमेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन गर्ने सम्भावना क्षीण बन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिमा रहेको वैधानिक अधिकार उपयोग गर्दै तयारीमा लाग्ने सङ्कल्प लिएका छौँ ।”

विज्ञप्तिमार्फत नेताहरूले भदौ २३ र २४ गते जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै घटनाको छानबिन गरी दोषीलाई कारबाही माग पनि गरिएको छ । 

विज्ञप्तिमा नेताहरू कोसी प्रदेशमा सभापतिमा पराजित गुरुराज घिमिरे, युवा नेता देवराज चालिसे, तारानाथ दाहाल, पूर्वसांसद रीता शाही, बिमला नेपाली, रुद्र कन्दङ्वालगायतले हस्ताक्षर गर्नुभएको छ । 

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रस्ताव गर्नुभएको थियो । तर बैठकमा उहाँहरू अल्पमतमा पर्नुभयो । 

माओवादीमा श्रेष्ठको दाबी

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई कार्यवहाक अध्यक्ष दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको छ । यसअघि बसेको माओवादी पदाधिकारी बैठकमा उहाँले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व छाडेर कार्यवहाक अध्यक्ष तोक्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।

उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार पदाधिकारी बैठकमा जेनजी विद्रोह र वर्तमान अवस्थाबारे लामो व्याख्या गर्दै श्रेष्ठले उक्त विद्रोहको शिक्षालाई ध्यान दिएर अध्यक्षले पनि यसबिचमा विभिन्न भिडियोमार्फत आफू नयाँ ढङ्गले जान तयार भएको बताउनुभएको उल्लेख गर्दै अध्यक्षकै सहमतिमा प्रणालीगत ढङ्गले आफूलाई कार्यवहाकको जिम्मेवारी दिनुपर्ने बताउनुभएको थियो । बैठकमा श्रेष्ठले पार्टीको अहिलेको कार्यभार चुनाव केन्द्रित हुनुपर्ने र चुनाव सकेपछि महाधिवेशनमा जानुपर्ने पनि बताउनुभएको थियो । उहाँले २०७८ को महाधिवेशनमा विचार संशलेषण हुन नसकेकाले पनि नयाँ अधिवेशनमा जानुपर्ने उल्लेख गर्दै अहिलेको यो छोटो समयमा छलफल गर्न नसकिने भएकाले चुनावपछि मात्र महाधिवेशनमा जानुपर्ने बताउनुभएको थियो । पोखरेलले भन्नुभयो, “महाधिवेशन र चुनावलाई सँगै जोडेर जाँदा पार्टीभित्र ‘आइडियो कल्चर’ का कारण एकताबद्ध अहिलेको विशिष्ट मोडमा सामना गर्न नसकिने भएकाले यसपछि अलि समय लिएर महाधिवेशन गर्न उपयुक्त हुन्छ । त्यसपछि सोपान व्रmममा आउने वरिष्ठै हुन्छ भन्ने कोणबाट कुरा राख्नुभएको हो, मलाई जनार्दनजीलगायतले समर्थन गरेको हो ।” 

सचिव देवेन्द्र पौडेलले पनि पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व छाडेर कार्यवहाक अध्यक्ष आफूलाई तोक्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि पार्टीमा महाधिवेशनदेखि पार्टी नेतृत्वको विषयमा छलफल भइराखेको छ । बैठकमा वरिष्ठ उपाध्यक्षले आफूलाई कार्यवहाक अध्यक्ष दिन प्रस्ताव गर्नुभएको हो । यसबारेमा निर्णय केही भएको होइन । छलफलमा उठेको विषय मात्रै हो ।” 

श्रेष्ठले आफूलाई कार्यवहाक अध्यक्ष दिन प्रस्ताव गरेपछि उपमहासचिव जनार्दन शर्माले समर्थन गर्नुभएको पार्टीका सचिव मातृका यादवले जानकारी दिनुभयो । शर्माले करिब एक वर्षयता निरन्तर नेतृत्वमाथि प्रश्न उठाउँदै आउनुभएको छ । “पार्टी नेतृत्व उमेर र व्यक्तिगत इच्छाले गर्ने कुरा होइन । आन्दोलनको भट्टीबाट खारिएर आएको नेताले विचारद्वारा नेतृत्व गर्ने हो,” उहाँले भन्नुभयो, “वरिष्ठले आफूलाई कार्यवहाक अध्यक्ष दिनुपर्ने प्रस्ताव गरेपछि जनार्दनजीले समर्थन जनाउनुभयो । मैले त्यसको प्रतिवाद गरेर हामीलाई प्रचण्ड कमरेडबाहेक अरूले नेतृत्व गर्न सक्नुहुन्न भनेको हुँ ।” प्रचण्डबाहेक अहिले भएका कुनै पदाधिकारीले पार्टी नेतृत्व गर्न नसक्ने उहाँले ठोकुवा गर्नुभयो । माओवादीको बुधबार बस्ने स्थायी समिति बैठकले महाधिवेशनबारे छलफल गरेपछि बिहीबार बस्ने केन्द्रीय समितिले निर्णय गर्ने बताइएको छ । 


 नयाँले खोजे झन् नयाँ 

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ८ गते । जेनजी आन्दोलनको ‘साइड इफेक्ट’ झैँ देखिने गरी केही वर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पनि नेतृत्व परिवर्तनको आवाज उठेको छ । अन्य राजनीतिक दललाई पुराना भन्दै आफूलाई ‘नयाँ’ का रूपमा परिभाषित गरिरहनुभएका रास्वपा सभापतिलाई उहाँभन्दा नयाँ पुस्ताको नेताले नेतृत्व छाड्न दबाब दिएका छन् । लामिछानेमाथि नेतृत्व छाड्न चौतर्फी दबाब आए पनि मङ्गलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले भने यसबारे कुनै निर्णय गरेन ।

रास्वपा सुदूरपश्चिम प्रदेश समितिले केन्द्रीय समितिलाई पत्रै लेखेर सभापतिले नेतृत्व छाड्नुपर्ने सुझाव दिएको विवरण सार्वजनिक भएको छ । सभापति लामिछानेमाथि अदालतमा मुद्दा रहेको र पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा सभापति कायम रहँदा पार्टीको आन्तरिक शुद्धता र सार्वजनिक छविमा गम्भीर असर परिरहेको तर्क गरिएको छ । केन्द्रीय समिति बैठकमा लामिछानेको कारागारबाट भएको रिहाइ प्रव्रिmया र त्यसपछिको सार्वजनिक व्यवहारमाथि प्रश्न उठेको थियो । 

आगजनी तोडफोडमा संलग्नता छैन : रास्वपा

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २३–२४ गते जेनजीहरूको प्रदर्शनका क्रममा नख्खु कारागारमा भएको आगजनी र तोडफोडमा पार्टीको संलग्नता नरहेको जनाएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको छ । 

आन्दोलनका क्रममा उपस्थित ठुलो भिडले आगजनी तथा तोडफोड गरी जेलब्रेक गरिरहँदा रास्वपाका शीर्ष नेताहरू पनि कारागार परिसरमा देखिएकोबारे चौतर्र्फी आलोचना भइरहेको छ । 

पार्टीका प्रवक्ता मनीष झाले केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै उक्त घटनामा पार्टीको कुनै पनि संलग्नता नरहेको बताउनुभयो । उहाँले आफूलगायत पार्टीका नेताहरू नख्खु कारागारमा पुगेको तर आगजनी तथा तोडफोड नगर्न सबैलाई आग्रह गरिएको बताउनुभयो ।

उहाँले आगजनी र तोडफोडमा संलग्न पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गरिएको बताउँदै उक्त घटनाको अनुसन्धानमा सघाउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । आगजनी र तोडफोड भइरहेको नख्खु कारागारबाट श्रीमती निकिता पौडेल र पार्टीका नेताहरूसहित सभापति लामिछाने बाहिर निस्किएको खबर बाहिरिएपछि देशभरका कारागार ब्रेक गरी झन्डै १६ हजार कैदी भागेका थिए । 

आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा तिनै कैदीको संलग्नता रहेको सुरक्षा स्रोतको दाबी छ । यसै क्रममा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले रास्वपा परित्याग गर्नुभएको छ । जेनजी आन्दोलन क्रममा आगजनी तथा तोडफोडमा रास्वपाका नेताहरूको संलग्नता देखिएपछि स्वस्फूर्त पार्टी छाड्ने क्रम रास्वपामा बढ्दो छ ।