जनार्जन खत्री
सर्लाही, असोज ८ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बुधबार अपरान्ह रात्रिबस र ट्रक ठोक्किँदा सातजना घाइते भएका छन् ।
ईश्वरपुर नगरपालिका–१३, स्थित बाँके जङ्गलको लच्का नजिक काठमाडौंबाट विराटनगरका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ६३०६ नम्वरको रात्रिबस र महोत्तरीको बर्दिवासबाट चामल बोकेर भैरहवा हिँडेको ना ६ ख २९२८ नम्वरको ट्रक ठोक्किएका सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले बताउनुभयो ।
दुर्घटनामा मोरङको विराटनगर महानगरपालिका–४, का २९ वर्षीया सविक्षा राई, मोरङकै रङ्गेली नगरपालिका–९, का ४० वर्षीया लालकुमारी श्रेष्ठ, उहाँकी छोरी १५ वर्षीया युनिष्का, विराटनगर महानगरपालिका–३, का ३९ वर्षीया सविता रेग्मी, उहाँकी छोरी आठ वर्षीया प्रिसा, भारतको बिहार कटैया पञ्चायत–३, दरभङ्गा घर भइ काठमाडौं बस्ने रामशरण मण्डल र मोरङको सुन्दरहरैचा नगरपालिका–९, का ५२ वर्षीया लोकबहादुर विक घाइते भएका छन् ।
घाइते एकजनाको लालबन्दी र छ जनाको बर्दिवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको रात्रिबस मुग्लिन–नारायणगढ सडकमा तीन दिन जाममा परेर बुधबार बल्ल छुटेर विराटनगरतर्फ गइरहेका बेला ट्रकसँग ठोक्किएको हो ।
बसमा ३९ जना यात्रु सवार रहेका थिए । आपसमा ठोक्किएपछि ट्रक र बस आ–आफ्नो साइडमा पल्टिएका छन् ।
दुर्घटनाका घाइतेको राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरेका थिए । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बसका यात्रुहरुको सरसामग्री प्रहरी चौकी फूलजोरमा ल्याएर राखिएको र यात्रु तथा उनीहरुको आफन्त सम्पर्कमा आएर धमाधम आ–आफ्नो सरसामग्री बुझेर लगिरहेका जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परेका दुबै सवारी साधन घटनास्थलमै रहेका छन् । बसका चालक र यात्रु घाइते भए पनि ट्रक र ट्रकका कर्मचारी सकुसल रहेका इन्स्पेक्टर जोहारीले बताउनुभयो ।