बिष्णुप्रसाद पोखरेल
दमक, असोज ८ गते । चाडपर्व तथा विशेषगरि दसैँमा अधिक हुने खसी बोकाको व्यापार यस पटक खस्केको छ । पूर्वी नेपालको सबैभन्दा ठुलो हरेक बुधबार लाग्ने दमकको पशुहाटमा पूर्वी नेपालका अधिकांश जिल्लाबाट खसिबोका बिक्रीका लागि ल्याइने गरेकोमा यो वर्ष बिगतभन्दा आधा पनि कारोबार नभएको बताइएको छ ।
दमकको पशुहाटको बिक्री कर उठाउने अनुमति प्राप्त गर्नुभएका प्रकाश बस्नेतका अनुसार अघिल्ला वर्षहरूमा एक सातामानै २ करोडसम्मको खसिबाख्रा तथा चौपायाको कारोबार हुने गरेकोमा अहिले घटेर आधा पनि नभएको पाइएको छ । किन्न र बिक्री गर्नका लागि आउनेको सङ्ख्या नै कमी छ, उहाँले भन्नुभयो ।
चाडपर्व र विशेष गरेर दसैँको समयमा पशुहाटमा किनमेलका लागि आउन मुस्किल पर्ने गरेपनि अहिले त्यस्तो अवस्था नरहेको एक पशु व्यवसायी आनन्द चम्लागाईले बताउनु भएको छ । पूर्वी नेपालको इलाम, पाँचथर र धनकुटा लगायतका क्षेत्रबाट समेत यहाँ खसिबाख्रा बिक्रीका लागि ल्याइने गरेपनि अहिले यो सङ्ख्या अधिक कम रहेको उहाँको भनाइ छ ।
दसैँका लागि राँगा, खसी, बोका अधिक खरिद बिक्री हुने स्थलको रूपमा चिनिएको दमक पशुहाट यो पटक सुनसान झै रहेको थियो । जेएनजीको आन्दोलनपछिको निराशाका कारण दसैँको उत्साह खासै नदेखिएको बताइन्छ । विस्तारै जनजीवन भने सामान्यतर्फ उन्मूख बन्दै गएको छ ।
दमक उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष ज्ञाननाथ पौड्यालका अनुसार ४ दिनअघिसम्म झापामा बेलुकाको समयमा निषेधाज्ञा लाग्दै आएको थियो । दमक पशुहाट लगायत दसैँको व्यापार हुने दमकका मुख्य स्थानहरूमा विगतका वर्षभन्दा कम चहलपहल र व्यापार हुँदै आएको छ ।