• ६ वैशाख २०८१, बिहिबार

पुस्तक नपुगेपछि वैकल्पिक विधिबाट पठनपाठन

blog

मोवाईलमा डाउनलोड भएको पाठलाई पढाउदै बालमन्दिर माविका शिक्षक मधु बस्नेत । तस्बिर : राजन रावत

हुुम्ला समाचारदाता

हुुम्ला असार १५ गते । पाठ्य पुस्तक समयमा नपुगेपछि माथिल्लो हुम्लाका विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरु वैकल्पिक बिधिबाट पाठनपाठन गर्न बाध्य भएका छन् । विद्यालय सञ्चालन भएको डेढ महिना पुग्दासम्म पुस्तक आई नपुगेपछि विद्यालयहरुले पढाइ सुचारु राख्न वैकल्पिक विधि अपनाएका हुन् । 

सिमकोट गाउँपालिकाको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले इन्टरनेट चलाउने शिक्षकहरुले पाठ्यक्रमबाट कक्षा अनुुसारका विषयवस्तु डाउनलोड गरेर पढाइ सुचारु रहेको बताउनुभयो । यसरी डाउनलोड गरिएको पाठको विषयवस्तुलाई शिक्षकले ह्वाइट बोर्डमा लेख्ने र विद्यार्थीहरुले सार्ने कार्य गर्दै आउनुभएको छ । यसैगरी गृहकार्य पनि बोर्डमा लेखेर दिने गरिएको छ । उहाँले हालसम्म पुस्तक विद्यालयमा नपुगेपछि पढाइ सुरु भएयता यसरी नै विद्यालयमा पठन पाठन हुने गरेको बताउनुभयो । 

विद्यालयमा हालसम्म एक जना विद्यार्थीको हातमा पनि पुस्तक पुगेको छैन् । यता सिमकोटकै कैलाश मावि डाँडाफयाका प्रधानाध्यापक मेज बुढाले पनि आफ्नो विद्यालयमा यसरी नै पठनपाठन भइरहेको बताउनुभयो । उहाँले विशेष गरी चार, सात र नौ कक्षाहरुमा यसरी शिक्षकहरुले पठनपाठन गरिरहेको बताउनुभयो । उहाँले कक्षा पाँचसम्म भने पुराना पुस्तकबाट नै पढाइ सुचारु राखिएको बताउनुभयो । 

यता बालमन्दिर माविमा पनि शिक्षकहरु वैकल्पिक विधि अपनाएर नै पठन पाठन गर्दै आउनुभएको छ । यी तीनवटै विद्यालयमा हालसम्म पुस्तक पुगेको छैन । विद्यालयहरु आफ्नै स्राेतबाट इन्टरनेटको व्यवस्था गर्नुपरेको छ । सिमकोट गाउँपालिकामा २५ वटा मावि र आधारभूत विद्यालयहरु छन् ।

यता नाम्खा गाउँपालिकाका १६ वटा विद्यालयमा पनि इन्टरनेट पहुँच भएका विद्यालयहरुले माथिकै विधि अपनाएको बुद्ध आधारभूत विद्यालयमा प्रधानाध्यापक धर्मानन्द लामाले बताउनुभयो । उहाँका अनुसार आधारभूत विद्यालयमा भने पुराना सीमित पुस्तकबाट पढाइ सुचारु भरहेको छ ।