गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा समग्र वित्तीय प्रणालीमा कुनै असर नपरेको बताउनुभएको छ । केही बैङ्कका शाखा, काउन्टर र एटिएममा क्षति भए पनि प्राविधिक प्रणाली सुरक्षित रहेको उहाँले बताउनुभएको हो ।
सुशान्त प्रधानलाई दिएको पडकास्टमा गभर्नर पौडेलले देशभरमा बैङ्कका कुल ६८ वटा शाखा र ६९ वटा एटिएममा तोडफोड भएको जानकारी गराउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै क्षति बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको शाखामा भएको छ । सो शाखाबाट पाँच करोड रुपियाँ नगद र १८ किलो सुन गरी करिब ३८ करोड रुपियाँको नोक्सानी भएको छ । क्षति पुगेका अधिकांश शाखा तथा एक्सटेन्सन काउन्टर र एटिएम सरकारी कार्यालयमा रहेका तथा भाटभाटेनी स्टोरमा रहेका एटिएम छन् । एटिएम तोडफोड भए पनि त्यहाँभित्रको नगद भने सुरक्षित रहेको पाइएको उहाँले बताउनुभयो ।
“कैदीहरू हुलका हुल भागेकाले ठुलो क्षति हुन्छ कि भन्ने डर थियो तर भाग्यवश सबै प्रणाली सुरक्षित रह्यो,” उहाँले भन्नुभयो, “कसैको पनि लकरमा क्षति भएको छैन, खाताको रकम पनि पूर्ण सुरक्षित छ ।”
गभर्नर पौडेलले आगजनी र लुटपाटलगत्तै बैङ्कका केही प्रमुख कार्यकारी अधिकृत तथा उद्यमी व्यवसायी संस्थाका प्रतिनिधिसँग छलफलसमेत गर्नुभएको थियो ।
राहत तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयको अहम् भूमिका हुने भए पनि मौद्रिक नीतिमार्फत हुन सक्ने सहुलियत मर्का परेका प्रतिष्ठान तथा व्यक्तिलाई उपलब्ध गराइने उहाँले बताउनुभयो । छलफलमा क्षतिको विस्तृत यकिन विवरण तयार गर्न उद्यमी तथा बैङ्करलाई उहाँले आग्रह गर्नुभयो ।