• २ असोज २०८२, बिहिबार

जेनजी प्रदर्शन : वन डिभिजन कार्यालयमा एक करोड ७१ लाखभन्दा बढीको क्षति

blog

राजविराजस्थित क्षतिग्रस वन डिभिजन कार्यालय सप्तरी । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी) असोज २ गते ।
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट वन डिभिजन कार्यालय सप्तरी राजविराजमा ठुलो क्षति भएको छ ।

भदौ २४ गते जेनजीले गरेको प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट कार्यालयको भवनसहित कागजात र जिन्सी सामान जलेर नष्ट हुँदा ठुलो क्षति भएको हो ।

आगजनी, तोडफोड र लुटपाटबाट एक करोड ७१ लाख ८१ हजार नौ सय ४० रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वन डिभिजन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।

उहाँले ७० लाख रुपियाँ बराबरको भवन पूर्ण रुपमा जीर्ण बनेको र त्यस ठाउँमा कार्यालय सञ्चालन गर्ने अवस्था समेत नरहेको बताउनुभयो ।

“करिब ७० लाख बराबरको कार्यालयको भवन मात्र जीर्ण बनेको छ, कम्प्युटर, ल्यापटप, अग्नि नियन्त्रणका उपकरण एयर ब्लोवर, जिपिएस सेट, प्रोजेक्टर, सीसी क्यामेरा, एसी, सोफा, दराज, टेबल–कुर्सीलगायतका सामग्री नष्ट हुनुका साथै लुटेर पनि लगिएको छ ।’’ डिभिजन प्रमुख दासले भन्नुभयो ।

प्रदर्शनकै क्रममा कार्यालय भवनमा आगजनी हुँदा अधिकांश सामग्रीका साथै कार्यालयमा रहेका कागजात पनि जलेर नष्ट भएको छ ।

कार्यालय पूरै जीर्ण अवस्थामा पुगेकोले तत्काल कामकाज सञ्चालनमा समस्या भएको हुँदा हाल राजविराज – ८ स्थित पहिलाको भूसंरक्षण कार्यालयबाट सेवा प्रवाह गर्ने गरी तयारी भइरहेको दासले बताउनुभयो । “तीन–चार दिनभित्र नयाँ स्थानबाट नियमित सेवा सुरु गरिने गरी काम थालेका छौं ।’’ दासले भन्नुभयो ।

लुटेर लगिएका सामानहरु फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेपछि तीन वटा आगो निभाउने जेट सुटर र एक थान जिपिएस प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको रोहबरमा फिर्ता आएको र अझै चोरी भएका सामग्री भने फिर्ता हुन नसकेको दासले बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा राजविराज स्थित बढी क्षति पुगेको कार्यालयहरु मध्ये वन डिभिजन पनि बढी प्रभावित रहेको बताइएको छ ।