• २ असोज २०८२, बिहिबार

बुटवल–गोरुसिङ्गे सडक विस्तार निरन्तर

blog

बुटवल–गोरुसिङ्गे सडकखण्डमा पुलको संरचना तयार गरिँदै ।

बुटवल समाचारदाता 

बुटवल, असोज २ गते । एसियाली मापदण्ड अनुसार स्तरोन्नति हुँदै गरेको बुटवल–गोरुसिङ्गे सडकखण्डमा अहिले संरचनागत काम धमाधम भइरहेको छ । असार–साउनमा खासै पानी नपरे पनि पछिल्ला दिनमा निरन्तर झरी परेपछि पुल र अप्रोच सडकमा क्षति पुगेकोले काममा अवरोध भएको हो । 

गत माघ ११ गते शिलान्यास भएको यो आयोजनाको काम करिब १४ प्रतिशत पूरा भइसकेको छ । परियोजनाकी प्रमुख इन्जिनियर कुशलता न्यौपानेले पुल, कलभर्ट, अन्डरपास, नाली र वालजस्ता संरचनाको काम तीव्र गतिमा भइरहेको बताउनुभयो । झरीले पुलका अप्रोचमा क्षति पु¥याएको र अस्थायी डाइभर्सनमार्फत आवतजावत सञ्चालन गरिएको छ । 

न्यौपानेले भन्नुभयो, “असार–साउनमा सावधानीका लागि काम सुस्त पारिएको थियो तर अहिले झरीले झन् असर ग¥यो ।” उहाँका अनुसार अझै केही दिन वर्षा हुने पूर्वानुमान भएकाले गति घटेको हो । सडकखण्डमा दैनिक सात सय मजदुर खटिएका थिए तर मौसम र चाडपर्व नजिकिँदा सङ्ख्या घटेको छ । परियोजनाले दसैँपछि एक हजार मजदुर परिचालन गरेर कामलाई तीव्रता दिने तयारी गरेको छ । 

हाल बुटवलदेखि गोरुसिङेसम्म दुई खण्डमा विभाजन गरी आरसिसी रिटेनिङ वाल, बक्स कलभर्ट, बक्सब्रिज, एनिमल क्रसिङ संरचना र पुलका फाउन्डेसन तयार भइरहेका छन् । आठ वटा बक्सब्रिज र २२ वटा अन्य पुल बन्ने छन्, जसका पाइलिङ र फाउन्डेसनका काम लगभग पूरा भइसकेका छन् । इन्जिनियर जिगेशप्रसाद चौधरीले सबैभन्दा ठुलो तीन सय मिटर लामो वाणगङ्गा पुलको जटिल संरचना पूरा भइसकेको र अब स्ट्रक्चर जडान मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

यो ५० किलोमिटर सडकलाई दुई प्याकेजमा बाँडेर चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र चितवन निर्माण सेवाले काम गरिरहेका छन् । कुल लागत १३ अर्ब ५५ करोड रुपियाँ रहेको आयोजना अन्तर्गत बुटवल–कोठीनदी २५ किलोमिटर र कोठीनदी–गोरुसिङे २५ किलोमिटरमा स्तरोन्नति भइरहेको छ ।

सहर क्षेत्रको ३० किलोमिटर सडक दुवैतर्फ सर्भिस लेनसहित छ लेनमा बन्ने छ भने जङ्गल क्षेत्र पर्ने करिब २० किलोमिटर खण्डमा चार लेनको सडक, एनिमल अन्डरपास र भेहिकल पास रहने छन् । सहरी क्षेत्रमा सडक चौडाइ ५० मिटर र अन्यत्र ३७ मिटर रहने छ । झरीका कारण अस्थायी अवरोध भए पनि आयोजनाका प्राविधिक यो सडकलाई निश्चित समयमै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेका छन् ।