अर्जुन कार्की
काठेखोला (बागलुङ), असोज २ गते । लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आर्थिक वर्ष २०८१/०८२ मा ८५ जना पीडितले निःशुल्क सेवा लिएका छन् । धौलागिरी प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालनमा रहेको केन्द्रबाट एक वर्षमा ७३ जना महिला र १२ जना पुरुषले उपचार तथा परामर्श लिएका हुन् ।
केन्द्रकी फोकलपर्सन देवी भट्टराईले घरेलु हिंसा, यौन हिंसा र मानसिक समस्या भएकाहरुलाई केन्द्रमा राखेर उपचार गराउँदै आएको बताउनुभयो । उहाँले केन्द्रमा गत आर्थिक वर्षमा १९ जना बलात्कार, ३४ जना शारीरिक हिंसा, १५ जना मानसिक यातना, १० जना करणी उद्योग र सात जना घरेलु हिंसा पीडितहरुले सेवा लिएको बताउनुभयो ।
पछिल्लो आर्थिक वर्षमा २०८०/०८१ मा १०६ जना हिंसा पीडित महिलाको अस्पतालमा उपचार भएको थियो । जसमध्ये ११ जना बलात्कार, ५५ जना मानसिक यातना, ३२ जना घरेलु हिंसा, १८ जना शारीरिक हिंसा र ६ जना करणीका पीडितहरुले सेवा लिएका थिए ।
बागलुङमा १९ वर्षदेखि ५९ वर्षसम्मका महिला र पुरुषहरु बढि मात्रमा पीडितहरु रहेको पाइएको छ । केन्द्र प्रमुख भट्टराईले गतआवमा १९ वर्षदेखि ५९ वर्षसम्मका ५६ जना पीडितले सेवा लिएको बताउनुभयो । यस्तै १४ वर्षसम्मका ८ जना, १५ देखि १८ वर्ष उमेरका ११ जना, ५० देखि ६० वर्षसम्मका ७ जना र ६० वर्षदेखि माथिका ३ जना पीडितको उपचार गरिएको छ ।
“केन्द्रमा धेरै जसो टिनएजर विद्यार्थीहरु रहेका छन्,” प्रमुख भट्टराईले भन्नुभयो, “मानसिक रुपमा पीडित विद्यार्थीहरुले आफ्नो पीडा अरुलाई व्यक्त गर्न नसक्नु र उनीहरुको मनोभावना विपरीत अभिभावक र शिक्षकले पढ्न लगाउने गर्नाले टिनएजरको सङ्ख्यामा वृद्धि आएको हो ।”
जातिगत रुपमा हेर्दा सबैभन्दा धेरै हिंसा दलित समुदायका महिलामाथी भएको देखिन्छ । गतआवमा ४७ जना दलित, २१ गते जनजाती र १७ जना ब्राह्मण तथा क्षेत्रीहरु पीडित रहेको तथ्यांकमा देखिएको छ ।
यस्तै केन्द्रमा सेवा लिनेमा गत आजमा बाथदसङ नगरपालिपकाका २३ जना, जैमिनी नगरपालिकाका ५ जना, गलकोट नगरपालिकाका ६ जना, ढोरपाटन नगरपालिकाका ४ जना, काठेखोला गाउँपालिकाका १३ जना र बडिगाड गाउँपालिकाका ६ जना पीडितले सेवा लिएका छन् ।
केन्द्रमा आउने पीडितलाई मनोसामाजिक बिमर्श मार्फत शारिरीक र मानसिक उपचार गरिन्छ । एक सातासम्म राखेर गरिने उपचारपछि परिवारका सदस्यलाई समेत सामाजिक बिमर्श गराएपछि पुनःस्थापना गर्ने गरिएको भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्रमा आएका पीडितहरुलाई उपचार र परामर्श दिने गरेको बताउनुभयो । “यहाँ आउँदा धेरै जसो पीडितहरु सुरुमा खुल्नु हुँदैन,” भट्टराईले भन्नुभयो, “हामीहरुको परामर्श र उपचार पछि विस्तारै खुल्दै जाँदा के कारण रहेको पत्ता लाग्ने गरेको छ ।”
केन्द्रमा जिल्ला प्रहरी कार्यालय, अन्य अस्पताल तथा परिवारबाट सेवा लिन आउने गरेका छन् । गतआवमा जिल्ला प्रहरी कार्यालयबाट ३३ जना, अन्य अस्पतालबाट १० जना, परिवारबाट ४० जना र अल्पकालीन सेवा केन्द्रबाट दुई जना सेवा लिन केन्द्रमा आएको फोकलपर्सन भट्टराईले बताउनुभयो ।
धौलागिरी प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डण्ट डाक्टर अमित ढुङ्गानाले अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसा पीडित र प्रभावितका लागि निःशुल्क स्वास्थ्य उपचार र परामर्श सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले केन्द्रबाट निःशुल्क सेवा प्रदान हुन्छ भन्ने बारेमा आम नागरिकमा जानकारी नहुँदा धेरै पीडितहरु सेवा प्राप्त गर्नबाट छुटिरहेको बताउनुभयो ।
केन्द्रले लैङ्गिक हिंसामा परेका पीडितहरुलाई मनोपरामर्श दिनुका साथै निःशुल्क उपचार गर्ने गरेको छ । उनीहरुलाई उपचार गराउन आउँदा यातायात खर्च र जिल्लामा उपचार सम्भव नभएमा रिफर गर्ने गरिएको केन्द्रले जानकारी दियो ।