• २ असोज २०८२, बिहिबार

थारू बस्तीमा सख्या पैयाँनाच

blog

दङ्गीशरण–३, हेकुलीगाउँका युवकयुवती सख्या पैयाँनाच नाच्दै । तस्बिर : सन्तोष दहित

दाङ समाचारदाता

दाङ, असोज २ गते । दसैँमा नाचिने थारू समुदायको प्रख्यात सख्या पैयाँनाच थारू बस्तीमा सुरु भएको छ । दसैँ आउनुअघि थारू समुदायले १२/१५ दिनअगाडिदेखि नै सख्या पैयाँनाच नाचेर दसैँलाई स्वागत गर्ने गर्दछ । स्थानीय युवा राजन चौधरीले घोराही उपमहानगरपालिका–६, लख्वार गाउँलगायत अन्य गाउँमा पनि दसैँको नाच सुरु गरिएको जानकारी दिनुभयो । 

स्थानीय लोकमान चौधरीले दङ्गीशरण–३, हेकुली गाउँमा पनि दसैँमा नाचिने नाचको तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मादल तयार भएपछि एक/दुई दिनमा सख्या पैयाँनाच नाच्न सुरु  गर्छौं ।” यसैबिच अन्य थारू बस्तीमा पनि दसैँका नाच नाच्ने तयारीमा युवा जुटिरहेको उहाँले जानकारी दिनुभयो । चौधरीका अनुसार एउटा गाउँमा सुरु भएपछि त्यसपछि वरिपरिका गाउँमा सख्यानाच नाच्न सुरु हुने गर्दछ ।

थारू समुदायले दिनभरिको काम सकाएर खानपिन गरेपछि राति ८ बजेदेखि गाउँको महटाँवाको घरको आँगनमा सख्या पैयाँनाच नाच्ने गर्दछ । दङ्गीशरण गाउँपालिका–३, हेकुली गाउँकी सख्या पैयाँनाच टोलीकी अगुवा (मोह्रिन्या) सिरु चौधरीले दसैँको तीन दिनबाहेक थारू समुदायले रातिको समयमा सख्या पैयाँ नाच्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अविवाहित युवती (बठिन्या) थारू मौलिक वेशभूषामा सजिएर हातमा मञ्जिरा बजाउँदै एकै स्वरमा सख्या गाउँछन् भने पुरुष (मन्ड¥या) ले मादल बजाएर साथ दिन्छन् । उहाँले भन्नुभयो, “यो नाच विशेषतः लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ ।” सख्यानाच दुई समूह बनाएर नाचिन्छ । एउटा समूहको नेतृत्व मोह्रिन्या र  अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् ।

सख्यानाच र गीत एउटै भए पनि गाउँठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ । यो नाच महटाँवा, (बडघर) को आँगनमा नाचिन्छ । गाउँले टीका (सेतो टीका) अर्थात् नवमीको दिनदेखि बडादसैँको दिनसम्म भने दिउँसै सख्या नाच्ने गरिन्छ । करिब एक महिनासम्म नाचिने सख्यानाच भदौमा गरिने हा¥या गुरै पूजा सुरु भएदेखि बडादसैँपछि एक सातापछिसम्म सामूहिक रूपमा मादल र मञ्जिराको साथमा गीत गाउँदै नाच्ने गरेको महटाँवा महासङ्घ दाङका अध्यक्ष एवं थारू कल्याणकारिणी सभाका पूर्वअध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।