केशब राज भट्ट
वाशुलिङ (बैतडी), असोज २ गते । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दीमध्ये ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार साँझसम्म ५८ जना कैदीबन्दी तथा थुनुवा प्रहरी नियन्त्रणमा आइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । बैतडी कारागारमा ५४ जना कैदीबन्दी र आठ जना थुनुवा गरेर ६२ जना बस्दै आएका उहाँले बताउनुभयो ।
भदौ २४ गते राति कारागारमा तोडफोड र आगजनी गरेर सबै कैदीहरु भागेका थिए । भागेका मध्ये सात जना थुनुवा र ५१ जना कैदीबन्दीलाई कारागारमा ल्याइसकेको प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो ।
भागेका मध्ये तीन जना कैदीबन्दी र एक जना थुनुवा अझै फरार रहेका छन् । फरार रहेकाहरुको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो । सीमा नाकामा समेत उनीहरुको फोटोसहितको हुलिया पठाइएको उहाँको भनाइ छ ।
प्रहरीले संयुक्त अप्रेशन सञ्चालन गरेर भागेका कैदीबन्दी र थुनुवाहरुलाई नियन्त्रणमा लिनका लागि खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताउनुभयो ।
फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गरिएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताउनुभयो । ‘‘भागेका कैदीबन्दी तथा थुनुवामध्ये ५८ जना कारागारमा आइसकेका छन् । फरार रहेकाहरुलाई पनि तुरुन्त सम्पर्कमा आउन र अन्यथा थप कारबाही हुने कुरा हामीले जारी गरिसकेका छौं ।’’ उहाँले भन्नुभयो ।
जिल्ला कारागारको बन्दीगृहमा अहिले ६० जना कैदीबन्दी तथा थुनुवा पुगेका छन् । एकजना दार्चुला कारगाराबाट भागेका कैदीबन्दीलाई पनि बैतडी कारागारमै राखिएको छ । बैतडी नै घर भएकाले उनलाई पनि यतै राखिएको भण्डारीले बताउनुभयो ।
एकजना नयाँ थुनुवा थपिएपछि अहिले कारागारमा ६० जना पुगेका छन् । सिगासकी बेलमती धामीको हत्यामा संलग्न यज्ञसिंह धामी अहिले पुर्पक्षका लागि कारागामा रहेका बताइएको छ । भदौ २४ गते रातिको तोडफोड र आगजनीबाट कारागारको बन्दीगृहमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।