• २७ वैशाख २०८१, बिहिबार

सप्तकोशीबाट पानी ल्याउन स्थलगत अनुगमन

blog

         निशा राई

धरान, असार १३ गते । सप्तकोशीको पानी धरानमा ल्याउन डिपिआरको तयारी गर्न धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको छ । 

प्रमुख राईले चुनावको बेलामा आफ्नो प्रमुख एजेण्डा नै सप्तकोशीको पानी ल्याएर धरानका जनतालाई खुवाउने बनाउनुभएको थियो । सो एजेण्डा कार्यान्वयनको लागि  आज सङ्घीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभाग, भारतीय र नेपाली परामर्शदाता, विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको हो । 

बर्खाको समयमो पानीको अभाव नभए पनि  हिउँदको समयमा भने धेरै नै पानीको  अभाव हुने गरेको छ । हिउँदको समयमा धरान वरपर भएका पानीका मुहानहरु सुक्ने गर्दछन्  र बढ्दो जनसङ्ख्याको कारणले गर्दा पनि  कोशीबाट पानी लगेर मात्र पानीको समस्याको स्थायी रुपमा समाधान हुने प्रमुख राई बताउनुहुन्छ । 

विभागका आयोजना प्रमुख बालमुकुन्द श्रेष्ठले डिपिआर तयार गर्न १२ महिना लाग्ने बताउनुभयो  । डिपिआर तयार भएपछि सबैबाट सकारात्मक प्रतिक्रिया र आवश्यक जग्गा उपलब्ध भएमा तत्काल योजना कार्यान्वयन गरिने उहांले जानकारी दिनुभयो । 

उहाँका अनुसार हाल १२ वटा स्थानीय तहमा डिपिआर भइरहेको र पहिलो चरणमा ५ वटा स्थानीय तह छनाेट गर्नुपर्ने बताउनुभयो  । धरानको राजनीतिक नेतृत्व, नगरबासी सबैको पहल भएमा पाँचवटा सहरमा धरान छनाेट हुने उहाँले बताउनुभयो । विशेषज्ञ एवं सिनियर इञ्जिनियर डा. चेतबहादुर परियारले डिपिआर तयार भएपछि स्रोत (बजेट) जुटेमा ३ वर्षभित्र पानी धरान पुर्याउन  सकिने बताउनुभयो  ।