• २७ वैशाख २०८१, बिहिबार

ताप्लेजुङमा कृषि ज्ञान केन्द्र स्थापना गरिने

blog

कृषि ज्ञान केन्द्र स्थापना गर्ने परियोजनाका लागि सम्झौता गरिँदै । तस्बिर सौजन्य : मिङ्माडण्डु शेर्पा ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल उत्पादनसँगै कृषिलाई प्रवद्र्धन गर्ने परियोजना सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँमै कृषि ज्ञान केन्द्र स्थापना गरेर परियोजना सञ्चालन गर्नेगरी गाउँपालिकाले अलमोस्ट हेवन फाम्र्ससँग सम्झौता गरेको छ । 

गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) को उपस्थितिमा अलमोस्ट हेवन फाम्र्सका तर्फबाट सञ्चालक ज्याकरी बार्टन र प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेबीच परियोजना सञ्चालनका लागि सम्झौता भएको हो । 

परियोजनामार्फत कृषि ज्ञान केन्द्र स्थापना गरी स्थानीय किसानको प्रत्यक्ष सहभागितामा कृषिसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने सम्झौतामा उल्लेख गरिएको छ । 

प्राङ्गारिक कृषि तथा उत्पादन केन्द्रित सीप र शिक्षा प्रदान गर्ने, जैविक खेती प्रक्रिया र जैविक मलको अनुसन्धान गर्नमा किसानलाई संलग्नता गराइने भएको छ । यस्तै आयोजना अवधिभर गाउँपालिकाबाट कम्तिमा सातजना महिला उद्यमी तयार गरी साना घरेलु उद्योग स्थापना गरिने भएको छ । अलमोष्ट हेवन फाम्र्सले कार्यक्रम अघि बढाउन आवश्यक तलबभत्तासहित एकजना पूर्णकालीन कर्मचारीको व्यस्था गरिदिने भएको छ ।

फाम्र्सले जैविक मल बनाउन र प्रयोग गर्ने तरिकाबारे तालिम दिने छ भने जैविक मल उत्पादनका लागि आवश्यक पर्ने औजार तथा सामग्री पनि प्रदान गर्ने भएको छ । 

त्यस्तै, अलमोष्ट हेवन फाम्र्सले जैविक मलको ब्राण्ड र बजारीकरणको विकासमा सहयोग गर्ने छ । उद्यमी बन्न चाहने महिलालाई आवश्यक तालिमसमेत प्रदान गर्ने जनाइएको छ । 

यसैगरी, फाम्र्सले महिला उद्यमशीलता विकासका लागि सात जनालाई ५० प्रतिशत अनुदानबापत एक लाख ५० हजार रुपियाँका दरले रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले भने जैविक मल कारखाना र एकीकृत कृषि ज्ञान केन्द्र स्थापनाका लागि १० लाख रुपियाँ बजेटको व्यवस्था गर्ने भएको छ । कृषि ज्ञान केन्द्र स्थापनाको पूर्ण जिम्मेवारीसमेत गाउँपालिकाले लिने भएको छ ।

यता कृषि ज्ञान केन्द्र स्थापनाका लागि न्यूनतम् चारदेखि पाँच रोपनीसम्म जग्गा आवश्यक पर्ने जनाइएको छ । उक्त जग्गासहित परियोजनामा सुरक्षा र प्राविधिक सहयोग उपलब्ध गराउने दायित्व गाउँपालिकाले लिएको छ । परियोजनाको अवधि २०७९ साल भदौदेखि २०८२ साल साउन महिनासम्म कायम रहने गरी गाउँपालिका र फाम्र्सबीच सम्झौता भएको गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बूले जानकारी दिनुभयो ।