• २७ भदौ २०८२, शुक्रबार

कर्फ्यु खुकुलो भएपछि राजविराजमा जनजीवन सामान्य

blog

राजविराजमा किनमेल गर्दै सर्वसाधारण । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २७ गते ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मङ्गलबार जारी गरेको अनिश्चितकालिन कर्फ्युको आदेश खुकुलो पारेपछि राजविराजमा किनमेल गर्नेको चहलपहल बढेको छ ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान १० देखि ५ बजेसम्म र बेलुका ७ देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्युको आदेश जारी गरेपछि राजविराजमा किनमेल गर्नेको चहलपहल बढेको हो ।

‘जेनजी’ को नामबाट मङ्गलबार सुरु भएको प्रदर्शनले उग्ररुप लिँदै सरकारी कार्यालयहरुमा आगजनी गरेपछि सोही दिन दिउँसो साढे ३ बजे जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फयुको आदेश जारी गरेको थियो । कर्फयुको आदेश जारी भएपछि राजविराजसहित जिल्लाका विभिन्न स्थान सुनसान रहेका थिए ।

जिल्ला सुरक्षा समिति बैठकको निर्णयानुसार बिहीबार गतेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम सप्तरी जिल्ला भरी तोकिएको सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्युको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।

कर्फ्युको आदेश जारी भएपछि सुरक्षाको कमाण्ड नेपाली सेनाले लिएको थियो । आम सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै कर्फ्युको केही खुकुलो पारिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनुभयो ।

उहाँले स्थितिको समिक्षा गर्दै शुक्रबार कर्फ्युको सम्बन्धमा थप निर्णय गरिने उहाँले जानकारी दिनुभयो ।

कर्फ्युको आदेशजारी भएपछि दुई दिनदेखि सुनसान राजविराजमा नेपाली सेनाले सुरक्षाको कमाण्ड लिएदेखि जिल्लामा कुनै अप्रिय घट्ना भएको छैन ।