• २७ भदौ २०८२, शुक्रबार

खाडलको पानीमा डुबेर बालबालिकाको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा खाडलमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीकाअनुसार मैवाखोला गाउँपालिका –३ साँघुस्थित नारायणी माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् विवेक बस्नेतका अनुसार नारायणी माविको निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा वडा –३ साँघुका चन्द्रबहादुर थक्लुङ लिम्बूका नौ वर्षीय छोरा मौसम लिम्बू र वडा ४ साँघुकै लाक्पा शेर्पाकी छोरी नौ वर्षीया याङ्जु शेर्पा रहेका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार शौचालयको सेफ्टी ट्याङ्कीका लागि खनिएको करिव ७–८ फिटको गहिरो खाडलमा जमेको पानीमा पौडी खेल्ने क्रममा बालबालिकाको डुबेर मृत्यु भएको छ । घटनाबारे खबर भएपछि प्रहरी चौकी साँघुबाट प्रहरी सहायक निरीक्षक (असई) प्रदिपकुमार मधुवनको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । घटना दिउँसो साढे २ बजेतिर भएको प्रहरीले जनाएको छ ।