• २६ भदौ २०८२, बिहिबार

फोहोर उठाउँदै शान्तिको अपेक्षा

blog

काठमाडौँ, भदौ २६ गते । भदौ २३ गते सोमबार जेनजी आन्दोलन नियन्त्रणबाहिर जाँदा भयावह बनेको काठमाडौँ उपत्यकाको अवस्था बुधबार भने शान्तिउन्मुख देखियो । २३ जनाको निधन, प्रमुख सरकारी कार्यालयमा आगजनी, निजी आवास, व्यापारिक तथा उद्योग प्रतिष्ठानमा आगजनी, लुटपाट जस्ता अकल्पनीय घटना भएपछि मङ्गलबार रातिदेखि नेपाली सेनाको नेतृत्वमा शान्ति सुरक्षाका लागि सेना परिचालन गरिएपछि अवस्था शान्तिपूर्ण बन्दै गएको हो । 

बुधबार यहाँको दृश्य फेरिएको देखियो । जेनजी समूहका प्रतिनिधि र स्थानीय समुदाय सबै हिंसाले अस्तव्यस्त सडक, चोक, गल्ली सफा गर्न उत्रिए । सरसफाइसँगै सबैको मन, मुहार आवाजबाट पनि अब यस्तो फेरि नदोहोरियोस् भन्ने भावन बाहिरिँदै थिए । 

मध्यदिनमा बानेश्वरस्थित संसद् भवनअगाडिका फोहोर सफा गर्न आफ्ना साना दुई छोरीसहित आउनुभएका रामबहादुर ऐरले यस्तो हिंसा नहोस् भन्ने चाहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “मेरा यी दुई जना छोरी छन्, उनीहरू जस्तै धेरैका छोराछोरीको भविष्य पनि हेर्नु पर्छ ।”

वार्ता र संवादबाटै समाधान निकालेर न्यायको सवालमा पनि ध्यान दिइनुपर्नेमा उहाँको जोड थियो । सोमबार मारिएका पनि आफ्ना जस्तै कसैका छोराछोरी भएको र प्रदर्शनमा दमन हुँदा ज्यान गुमाउनु परेकामा उहाँले दुःख प्रकट गर्नुभयो । त्यो दिन धेरै कुरा आँखाअगाडि भएकाले पनि भोलिपल्टको ध्वंसात्मक प्रदर्शनीमा स्थानीयले आँखा चिम्लेर समर्थन जनाएको टिप्पणी उहाँले गर्नुभयो । जेनजीका समर्थक युवा अब सफा गरौँ, सबैले सद्भाव राखौँ भन्ने नारासहितका पम्प्लेटसँगै झाडु, कुचो र बोरा बोकेर सफाइ गर्दै थिए । कतिपय बुधबार पनि आफ्ना अभिभावकलाई खबर नगरी त्यहाँ पुगेका थिए । मास्क लगाएर संसद् भवनतिर टोलाउँदै बसेकी एक किशोरीले भन्नुभयो, “म बानेश्वरमै छु, बाबालाई नभन है, यहाँ सफा गर्दै छु ।” आफूलाई जेनजीको प्रतिनिधि बताएर सञ्चारकर्मीसँग कुरा गरिरहेका अनिष ठकुरीले अब आफूहरूका मागका विषयमा वार्ता हुने र नयाँ सरकारको गठन हुने आशा व्यक्त गर्नुभयो । अहिले युवाले रुचाएका नेतालाई सरकारको नेतृत्व लिन प्रस्ताव गरिने भन्दै उहाँले कसैले नेतृत्व लिन नखोजे आफू र आफ्ना साथीले नै नेतृत्व लिने बताउनुभयो । उहाँले भन्नुभयो, “पढेको छु, बुझेको छु, पहिलेका नेताहरूले जस्तो भ्रष्टाचार गर्दिनँ, गरेँ भने ठाउँका ठाउँका गोली ठोकिदिनुस् म गोली खान तयार छु ।”

नेपाली सेनाका सैनिकले पहरा दिइरहेको संसद् भवनभित्रको अवस्था निकै जर्जर थियो । डढेर कालै भएका कोठामा अझै धुवाँको गन्धको नमिठो राग फैलिरहेको छ । संसद् भवनका कर्मचारी सफा कसरी गर्ने भन्नेमा अन्योलमा देखिन्थे । बाहिर सडकमा काठमाडौँ महानगरपालिकाको बु्रमर भने दिनभरजसो आफ्नै आवाजमा भुइँको कालो धुलो बटुल्दै थियो । 

अलिक वर जिल्ला अदालत, सडक विभागका जलेका भग्नावशेष नियाल्दै गरेका त्यहाँका कारिन्दा र स्थानीयको भिड थियो । “जे हुनु भैगयो अब शान्ति हुनु पर्छ’’ भन्ने धारणा धेरैले राख्नुभयो । उता सर्वोच्च अदालतपरिसरमा धुवाँको रागको गन्ध आइरहेकै थियो । भित्रैदेखि बाहिरसम्म कालो पिच गरे जस्तै कालाम्य बनेको थियो । जलाइएका फर्निचर र मिसिलका थाक भने अझै जेनजीका किशोरकिशोरी उठाउँदै थिए । उनीहरूलाई सघाउन महानगरका कुचीकार पनि थिए । 

मङ्गलबार प्रदर्शनकारीले फुटाएको मूलगेट बनाएर बुधबार ठडिएका छन् । कर्मचारी भने मिसिल र तथ्यहरू क्षतिग्रस्त भएकामा चिन्तित थिए । एक जना महिला कर्मचारीले भन्नुभयो, “रातभरि सुत्न सकिनँ, झलझली यही जलिरहेको आँखामा आइरह्यो, काम कसरी गर्ने भन्ने चिन्ताले सताइरह्यो ।” 

बिहान आँखा मिच्दै सबैजना खोजतलास र सुधार गर्न आइपुगेको उहाँले बताउनुभयो । कम्प्युटरबाट अन्यत्र डाटा सेन्टरमा सारिएका मिसिल तथा कागजात त होलान् भन्ने आशा जागेर आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभए जस्तै सर्वोच्च अदालतसँगै सिंहदरबारभित्रको कागजातहरूको तथ्य पनि अन्यत्र स्थापना गरिएको डाटा सेन्टरमा सारेर विगतदेखि नै सुरक्षित राख्ने गरिएको छ । 

विभिन्न सरकारी निकाय जलेपछि त्यहाँका तथ्य अब विलीन भए वा छन् भन्ने प्रश्न सबैमा कायम रहेका बेला ती तथ्य सुरक्षित रहेको अनुमान गरिएको छ । सर्वोच्च अदालतअघि भेटिनुभएका डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनीष भट्टराईले पनि विभिन्न सरकारी निकायका डाटा सुरक्षित रहेको जानकारी दिनुभयो । 

आफ्ना अड्डाबाहेक मकवानपुरको हेटौँडामा डाटा सेन्टर स्थापना गरिएको छ । जहाँ यता हराएका तथ्य रिकभरी गरेर पुनस्र्थापना गर्न सकिने उहाँले बताउनुभयो । एकीकृत तथ्याङ्क व्यवस्थापन सुरु भएसँगै यसरी अन्यत्र पनि डाटा सेन्टर स्थापना गरिएको थियो । जसले यस्तै खालका विपत्ति र अप्ठेरो आइपर्दा नष्ट भएका तथ्यहरू पुनस्र्थापित गरेर सरकारलार्ई काम गर्न आगामी दिनमा सघाउने उद्देश्य राखिएको छ । त्यो हेर्न भने सरकारले औपचारिक पत्र दिनुपर्ने हुन्छ । 

जेनजी समूहका प्रतिनिधिले पनि सरकारको तथ्य तथ्याङ्क नष्ट गर्ने आफूहरूको कुनै योजना नरहेको र रोक्दा रोक्दै आगजनीको अवस्था आएको जानकारी दिए । 

सिंहदरबार क्षेत्रभित्रको आगो पूरै निभिनसकेको हुनाले दमकल पुगेर निभाउने कार्य जारी छ । बुधबार महानगरपालिकाका दमकलले आलोपालो गर्दै पानी ओसारेका थिए । पश्चिमी गेटमा आगजनीले ठुलो क्षति नपुगे पनि हालसालै मात्र ठुलो लगानीमा पुर्ननिर्माण भएको सिंहदरबारको मुख्य भाग नराम्ररी नष्ट भएको छ । भित्र जतततै जलेका सवारीसाधन, मन्त्रालयका कोठाचोटाबाट अझै पनि धुवाँ पुत्ताइरहेको छ । 

उपत्यकाका अन्यत्र स्थानमा पनि बुधबार जेनजी र स्थानीयले सडक चोक सफा गरेका छन् । थानकोट प्रहरी कार्यालयमा लगाइएको आगो निभाइएको छ भने नष्ट भएका सामग्री निकालेर सफा गरिँदै छ । 

हाइभिजनमा भर्खरै बनाइएको ठुलो भवनमा लगाइएको आगो निभाउन नसक्दा अझ उग्र बन्दै छ । डिल्लीबजार, सुन्धारालगायतका कारागार क्षेत्र भने बुधबार पनि अशान्त देखिए । समाजमा शान्ति र सद्भावसँगै आपराधिक गतिविधि हुन नदिन, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा निगरानी बढाउनुपर्ने देखिएको स्थानीय बताउँछन् । 

सिंहदरबारदेखि नागढुङ्गासम्मको सडकका ठाउँ ठाउँमा सैनिक गस्ती र सुरक्षाजाँच छ । राति १० बजेदेखि सडकमा बसेका सैनिकमाझ पनि के भइरहेछ भन्ने चासो उच्च छ । पत्रकारलाई सुरक्षा जाँच गर्दा सोध्नुहुन्छ, “के भइरहेको छ सर, सरकार कहिले बन्छ, वार्ता भयो कि भएन ?” 

ढिला हुँदा अर्को तनाव आउनेतर्फ उहाँहरूको चिन्ता छ । शान्ति र सुव्यवस्था कायम हुन जे हुनु पर्छ छिट्टै हुनु पर्छ भन्नेमा आमनागरिकसँगै सबैको चासो रहेकाले जेनजीलाई छिटो एजेन्डासहित वार्ता गर्न आग्रह गरिरहेका छन् ।