काठमाडौँ, भदौ २३ गते। नेपाल चिकित्सक संघले संयमताका साथ अस्वाभाविक घटना नियन्त्रण गर्न अपिल गरेको छ।
संघका महासचिव डा. सन्जिब तिवारीले प्रेस विज्ञप्ति निकाल्दै सरकारलाई संयमताका साथ अस्वाभाविक घटना नियन्त्रण गर्न अपिल गर्नुभएको हो।
सोमबारको घटनाक्रमलाई मूल्यांकन गरी आन्दोलनरत पक्षलाई संयमता अपनाउन र राज्यलाई अनावश्यक बल प्रयोग तथा आन्दोलनरत नागरिकको जिउ धनको रक्षा गरी संयमताका साथ अस्वाभाविक घटना नियन्त्रण गर्न संघले अपिल गरेको हो।
जेनजीको अह्वान गरिएको विरोध प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति संघको ध्यानाकर्षण भएको डा. तिवारीको भनाइ छ।
लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र विरोध गर्न पाउने अधिकार रहेको अवस्थामा विरोध प्रदर्शन अनियन्त्रित र हिंसात्मक हुनु र राज्यद्धारा आन्दोलनकारी माथि अनावश्यक बल प्रयोग गरिनु अतन्त दुखद रहेको संघको ठहर छ।
आन्दोलनका क्रममा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उचित स्वास्थ्य उपचारको सम्पूर्ण दायित्व बहन गर्न सरकारसँग संघले माग गरेको छ।
उक्त कार्यमा आवश्यक सहयोग गर्न नेपाल चिकित्सक संघ सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संघको आह्वान छ।
घाइतेको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था सुनिश्रित गर्न सरकासँग संघले माग गरेको छ।