वासिङ्टन, भदौ २३ गते । युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास ठप्प भइरहेका सन्दर्भमा, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिनुभएको छ ।
ट्रम्पले आइतबार न्यूयोर्क प्रस्थान गर्नुअघि सञ्चारकर्मीले राखेको प्रश्नको उत्तरमा संक्षिप्त प्रतिक्रिया दिँदै,“हो, म तयार छु,” भन्नुभयो । यद्यपि, उहाँले प्रतिबन्धको स्वरूपका बारेमा थप विवरण दिनुभएन । गत साता एक प्रतिष्ठित समाचार संस्थाले राष्ट्रपतिको कार्यालयमा कार्यरत दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, राष्ट्रपति ट्रम्प हाल रूस र युक्रेनबिचको द्वन्द्व चाँडै अन्त्य हुने सम्भावनामा आशावादी देखिँनु भएको छैन ।
साथै, उहाँले दुबै राष्ट्रका राष्ट्रपतिबिच प्रत्यक्ष वार्ता शीघ्र सम्भव नहुने धारणा व्यक्त गर्नुभएको छ । उक्त परिस्थितिका बिच, आइतबार बिहान रूसी पक्षबाट युक्रेनको राजधानी किएभमा गरिएको ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण सरकारी क्षेत्रभित्रको एक महत्वपूर्ण प्रशासनिक भवनमा क्षति पुगेको जनाइएको छ ।
युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिदेन्कोले उक्त आक्रमण युद्ध सुरु भएयता पहिलो पटक राजधानी किएभको मुख्य सरकारी भवनमा क्षति पुगेको बताउनुभयो । ह्वाइट हाउसले घटनालाई गम्भीर रूपमा लिँदै, आवश्यक परे थप निर्णायक कदम चाल्न सकिने सङ्केत गरेको छ । रासस/सिन्ह्वा