• २३ भदौ २०८२, सोमबार

सार्वजनिक सुनुवाइमार्फत सुसूचित

blog

मुगु समाचारदाता

मुगु, भदौ २३ गते । यहाँको छायानाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को गरेका कामको विवरण सार्वजनिक सुनुवाइमार्फत नगरवासीलाई जानकारी गराएको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आयव्यय विवरण शक्रबार सुनुवाइमार्फत सार्वजनिक गरेको हो ।

नगरपालिकाले आव २०८१/८२ मा चालु बजेट ४२ करोड ७४ लाख ३८ हजार रुपियाँमा ३८ करोड ६० लाख ८३ हजार ६६५ रुपियाँ खर्च भएको जनाएको छ । यसमा कुल बजेटको ९० प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १८ करोड ८६ लाख सात हजार रुपियाँमा १४ करोड २३ लाख नौ हजार अर्थात् ७५ प्रतिशत खर्च भएको जानकारी गराइएको छ । नगरपालिकाले आव २०८१/८२ मा एक करोड दुई लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छायानाथ रारा नगरपालिकाका लेखा शाखाका प्रमुख जगतजङ्ग रावलले जानकारी गराउनुभयो । नगरपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदन एवं नगरपालिकाको सेवाको विषयमा सवालजवाफ भएको थियो । सार्वजनिक सुनुवाइमा नगरप्रमुख विष्णुकुमार भामले छायानाथ राराको सिको गरेर जिल्लाका सबै सार्वजनिक निकायले आफ्ना कार्यक्रम सार्वजनिक गरी पारदर्शी बनाउनुपर्ने सुझाव दिनुभयो । नागरिक अभियन्ता रूपबहादुर मल्लले नगरपालिकाले जिल्लाका सरोकारवाला निकाय र नगरका समुदायलाई पाठ सिकाएको जानकारी दिनुभयो । 

मुगुका तीन गाउँपालिका र एक नगरपालिकालगायत जिल्लाका दुई दर्जन कार्यालयले आफ्ना कार्यालयका गतिविधिको सार्वजनिक सुनुवाइ नगरेको पाइन्छ ।