विकास भनेको के हो ? यो प्रश्न कसैलाई सोधियो भने प्रायजसोको मस्तिष्कमा विदेशका जस्ता ठुलठुला घर र चाक्ला सडक मस्तिष्कमा आउँछ । अविकसित देश भनेर पाठ्यक्रममै पढाइयो अनि एउटा पुस्ता विदेश गयो । फर्केर आएर अर्को पुस्तासँग उनीहरूले विकासका कुरा गर्दा विदेशमा रहँदा झट्ट देखिएका अग्ला घर र चौडा सडकको कुरा गरे । नयाँ पुस्ताको मस्तिष्कमा विकासको अर्थ त्यसै गरी बस्यो ।
हाम्रो जस्तो देशमा पनि विकास भनेको अग्ला घर र चाक्ला सडकको उपस्थिति हो त ? विकासको परिभाषामा नेपालमा व्यवस्थित बहस नै हुन सकेको छैन । जनतालाई सर्वोपरि ठानेर उनीहरूको आवश्यकता पहिचान, योजना निर्माण र त्यसबाट उनीहरू कति लाभान्वित हुन सक्छन् भन्ने विवेचना । यी तीन विषयको निरन्तरताले नै हाम्रो विकासलाई सम्बोधन गर्न सक्छ । व्यवस्थित रूपमा विकासको परिभाषा खोज्ने र कार्यान्वयनमा जान नसक्दा हामीले समस्या भोग्दै आएका छौँ । सङ्घीयतामा गएपछि देशमा तीन तहका सरकार छन् । ती सरकारले आफ्नो परिधिमा रहेर विकासको परिभाषा खोज्नुपर्ने हो । स्थानीय तहले त स्थानीय परिभाषा नै खोज्ने हो । अहिलेको समस्या विकासको स्थानीय परिभाषा बन्न नसक्नु र विदेशमा देखिएका अग्ला घर र चाक्ला बाटोलाई नै विकासको विम्ब ठान्ने मनोविज्ञान बन्दै जानु हो ।
२०३७ सालमा विश्वविद्यालयका विद्यार्थीबिच एउटा प्रवचनका क्रममा बिपी कोइरालाले भन्नुभएको थियो, “विकास भनेको केही ठुला घरहरू, होटलहरू, ठुला सडक, मोटरगाडी, हवाईजहाज र अझ केही औद्योगिक उत्पादन वृद्धिका तथ्याङ्क पनि होइनन् । विकास भनेको के हो ? भन्ने प्रश्नका साथै विकास कसका लागि हो भन्ने प्रश्नसमेत सोचेर मात्र विकासलाई परिभाषित गर्न सकिन्छ...।”
आधुनिक नेपालको इतिहासमा विकासको अर्थलाई व्याख्या गरिएको बिपीकै यिनै धारणा मात्र पाइन्छन् । त्यसपछि विकासलाई हाम्रो आफ्नै धरातलसँग जोडेर परिभाषित गरिएकै छैन । विकासको परिभाषा निर्माण नगरी योजना बन्दा ती योजनाको हालत कस्तो होला भन्ने सहज अनुमान लगाउन सकिन्छ । २०४६ को परिवर्तनपछि उदार अर्थनीति र पूर्वाधार विकासलाई प्राथमिकता त दिइयो, त्यसलाई अहिलेका बजेटले समेत पछ्याइरहेका छन् । त्यो उदार अर्थनीति र पूर्वाधार निर्माणको लक्ष्य के हो ? भन्नेमा पनि प्रस्ट दृष्टिकोण छैन । पूर्वाधारको बाक्लो उपस्थितिले कनेक्टिभिटीलाई योगदान दिने हो, उत्पादन प्रक्रियालाई सहज बनाइदिने हो । त्यसपछि उत्पादन, त्यसको न्यायोचित वितरणसहित उच्च नैतिक आचरणसहितको सामाजिक न्याय र मानवीय मूल्ययुक्त उच्चतम नवीन सभ्यता निर्माणको दिशा पकड्नु हो । यो नै प्रजातान्त्रिक समाजवाद उन्मुख परिवेश हुने छ । सिद्धान्त, त्यसको जगमा विकासको परिभाषा निर्माण अनि त्यसको कार्यान्वयनको दिशामा गतिशीलताको पक्षलाई अझै पनि संस्थागत गर्न नसक्दा देशले समस्या झेल्दै आएको हो ।
बिपीलाई लाग्थ्यो विकास भनेको संरचनाका अग्ला स्तम्भ मात्र होइनन् । त्यसले भुइँमान्छेलाई कसरी र कहाँ जोडेको छ अर्थात् उनीहरूको जीवनमा के परिवर्तन आयो ? त्यसको परिणाम नै विकास हो, न कि बिपीकै भाषामा ‘भुइँफुट्टा वर्गको स्वार्थ’ अर्थात् उसको फाइदाका लागि तयार गरिएका संरचना विकासका विम्ब हुन् ।
सङ्घीयतामा गएपछि अब वडाहरूले विकासको आफ्नै ढङ्गले परिभाषा खोज्न सक्नु पर्छ । आत्मविश्वासका साथ स्थानीय तहले विकासको स्थानीय परिभाषा खोज्ने सामथ्र्य राख्नु पर्छ । अग्ला घर र चाक्ला बाटा मात्र विकासका विम्ब हुन् कि होइनन् ? यो मनोविज्ञानमाथि प्रश्न गर्दै नयाँ ढङ्गले सोच्ने वातावरण स्थानीय तहले नै बनाइदिन सक्छन् । हाम्रो देशको भौगोलिक संरचनाको तल्लो एकाइ वडा हुन् । ती वडाको नाम अङ्कमा अर्थात् १, २, ३ भनेर राखिएका छन् । स्थानीय विकासको परिभाषा निर्माण गरेर ती नाम अङ्कमा नराखी उत्पादन वा विशेष पहिचानसँग जोडेर राख्ने नीति मात्रै बनाउने र त्यसको आधारमा योजना बनाउने हो भने मात्र पनि प्रत्यक्ष परिणाम देखिने छ । कुनै वडाको वस्तुस्थितिको गहन अध्ययन गरेर त्यहाँ माछा उत्पादन राम्रो हुने देखियो भने त्यसलाई माछा वडा भनेर घोषणा गर्ने अनि लगानीको सहज वातावरण बनाउने । एवंरीतले फरक पहिचान र नाम दिन सकिन्छ । स्थानीय तहका जनप्रतिनिधिले (अझ वडाका) काम पाइरहेका छैनन् भन्ने गुनासो छ । कति जनप्रतिनिधि त विदेश पुगेका छन् भने कतिले जागिरको तयारी गरिरहेका छन् । उनीहरूलाई काम दिने र विकासको प्रक्रियाका ‘योद्धा’ बनाउने क्षमता पनि संविधानले अधिकार संरक्षित गरिदिएको स्थानीय तहले राख्छ ।
आज हामी विदेशका चिल्ला सडकसँग हाम्रा हिलाम्मे सडकलाई तुलना गरिरहेका छौँ । विदेशका गगनचुम्बी महलका अगाडि हाम्रा झुपडीपट्टिलाई टाँगेर हाम्रो विकासको खिल्ली उडाइरहेका छौँ । नीति निर्माण तहमा भएकाले मात्रै ‘डोजर’ चलाइरहेका छौँ । त्यसको सही वा गलत प्रयोगबारे हामीले कहिल्यै विमर्श गरेका छैनौँ । त्यसको परिणाम अनि उत्पादनले जनताको जीवनमा के साँच्चिकै परिवर्तन ल्यायो त भन्नेबारे हामीले कहिल्यै विचार गरेका छैनौँ । त्यो युग कस्तो थियो ? बिपीले बाँचेको समय कस्तो थियो ? उहाँले गर्नुभएको परिकल्पना वा विकासबारे दिनुभएको दृष्टिकोण आज मात्रै होइन नेपालको सन्दर्भमा अझ कैयौँ पुस्ताले बाँच्ने भविष्यसँग पनि जोडिएको छ । हामी यो भएन वा त्यो भएन भन्ने नाममा नेपालमा केही पनि हुँदैन, भएकै छैन वा हुनै सक्दैन जस्ता भाष्य निर्माण गरेर ‘नेगेटिभिटी’ मात्र फैलाइरहेका छौँ । यसबाट ‘देश बन्दै बन्दैन’ भन्ने मात्र नकारात्मक पर्दा लगाएर हामीले हाम्रो पुस्ताको कलिलो मस्तिष्कभित्र उसका उज्याला भविष्यका किरण छेकिरहेका छौँ ।
बिपीले के भन्नुभएको छ भने, “के नेपाल भनेको यहाँका चार–पाँच वटा सहर हो ? कि नेपाल भनेको गाउँ हो ? हामीले विकासका कुरा गर्दा विकासले त्यो ग्रामीण परिवारलाई के ग¥यो भन्ने प्रश्नको जवाफ दिन सक्नु पर्छ । ठुलो सडक बन्छ भने सडक त मोटरगाडी जोसित छ, उसैले उपयोग गर्छ । जेट प्लेन गाउँलेले चढ्दैन, बिजुलीको प्रचुर प्रयोग गर्दैनन् । त्यस कारण मैले प्रधानमन्त्री छँदा योजना आयोगको मिटिङलाई भनेको थिएँ, “तपाईंहरू भित्तामा राजाको तस्बिरसँगै नेपालको गरिब गाउँले किसान आफ्नो झुपडी अगाडि उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्– यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ ?”
विकासको परिभाषा समग्रतामा हुनु पर्छ भन्ने सन्देश बिपीको त्यो अभिव्यक्तिले दिन्छ । पहुँचको आधारमा योजना दिने, आवश्यकता तर्फ आँखा चिम्लने अनि मन्त्री भएकाहरूले आफ्नो निर्वाचन क्षेत्रलाई ‘भोट बैङ्क’ बनाउन पैसा हाल्ने प्रतिस्पर्धा गर्ने यी तीन प्रवृत्तिले हामीलाई अलमलमा पारेको छ । विकासलाई स्थानीय परिवेशमा परिभाषित गर्न नसकेकै कारण यी प्रवृत्ति मौलाएका हुन् । विकास भनेको हामीले मात्र बाटो बनाउनुलाई ठान्यौँ, अनि पहाड खोतल्न थाल्यौँ । बाटाघाटाले मात्र विकासको आयातन नाप्छ भन्ने एउटा मिथक परिभाषालाई उतार्न हामीले मात्र ‘डोजरे विकास’ लाई प्राथमिकतामा राख्यौँ । त्यसबाट कसले के पायो ?
आज छुट्याइएका बजेटका आधा हिस्सा फेरि हामीले जबर्जस्ती जमिन उधिनेर बनाएका बाटो मर्मतमा खर्च भइरहेको छ । यसरी मात्र हे¥यौँ भने राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका आज कुनै पनि जिल्ला बाँकी छैनन् । मूल बाटासँग नगाँसिएका कुनै पनि बस्ती छैनन् । त्यसको उपादेयता के ? त्यसको प्रतिफल के ? ती बाटा भएपछि हामीले हाम्रा गाउँघर, खेतबारी अनि करेसामा फलेका चिजवस्तु सहरसम्म पु¥याउन सक्नुपथ्र्यो । विडम्बना, गाउँबस्ती पुग्ने मोटरगाडी वा अरू सवारीसाधनले सहर फर्किंदा मात्र मानिसका हुल ल्याउँछन्, गाउँघर, खेतबारीमा हामीले उत्पादन गर्ने सागसब्जी सकिएका छन् । हामीले ती मोटरगाडीमा सहरका उत्पादन गाउँ पु¥याएर गाउँले उत्पादनलाई विस्थापित गर्दैछौँ । अर्थात् बाटो बन्यो भने त्यो कनेक्टिभिटीका लागि हुने गरी बनाउने हो, यहाँ त पुँजीपतिका उत्पादनलाई गाउँ पु¥याउने मार्ग मात्र बने बाटा । गरिबलाई विकास र उत्पादनसँग जोड्ने कनेक्टिभिटीका लागि चाहिएको हो हाम्रो जस्तो देशमा हुने ठुला लगानीले बन्ने बाटा ।
हामीले विकासलाई स्थानीय परिभाषासँग जोड्न सक्नु पर्छ । यो खालको परिभाषाबिना योजना बनाउन थाल्यौँ भने साँच्चिकै त्यो धरातलभन्दा धेरै नै माथि जान्छ र त्यसले वास्तविक जनता (उपभोक्ता) लाई छुनै सक्दैन । आज गाउँ किन रित्तिइरहेका छन् ? सहर किन भरिइरहेका छन् ? किन बाँझा खेतबारीमा पक्की घर बसाएर हामीले सहरका दालमोठ र चाउचाउमा जीवन काटिरहेका छौँ ? के यो नै नेपालका लागि विकासको मोडल हो ? संसारमा विकसित भइरहेका प्रविधिलाई हामीले हाम्रो जीवनशैली वा हाम्रा स्थानीय उत्पादनमा वृद्धि, त्यसको बजारीकरण र व्यवसायीकरणसँग कत्तिको जोड्न सकेका छौँ ?
एकातिर हामीले ‘राष्ट्रिय गौरवको आयोजना’ को कुरा गर्छौं, अर्कोतिर त्यसको विरोध पनि गर्छौं अनि एउटा ‘रुख’ ले त्यो गौरवको योजना सम्पन्न गर्न सक्दैनौँ । कैयौँ त्यस्ता नीति नियम वा हाम्रा प्रणालीले फेरि त्यसलाई छेकिदिन्छन् । त्यो भनेको के हो भने हामीलाई साँच्चिकै चाहिएको के हो ? त्यसमा हामी प्रस्ट छैनौँ अनि हामी के गरिरहेका छौँ भन्नेमै अलमलिएका छौँ । नत्र हामीले भनेका ‘राष्ट्रिय गौरव’ का आयोजनाको यो हबिगत हुने थिएन । ‘पञ्चवर्षीय योजना’ को यो हाल हुने थिएन । त्यसमा न राष्ट्रकै प्राथमिकता रह्यो न त जनताले नै त्यसलाई अपनत्व लिन सके । विकास भनेको जनताका लागि जनताकै अपनत्व भएको एउटा त्यस्तो परिभाषा र सिद्धान्त हो, जहाँ जनता नै सर्वोपरि हुन्छन् र आफ्नो भविष्यको गोरेटो उनीहरूले कोर्न सक्छन् । ताकि तिनै गोरेटा देश विकासका लागि भविष्यका फराकिला राजमार्ग बन्न सकून् ।