• २३ भदौ २०८२, सोमबार

संस्कृति र परम्परागत पहिचान झल्काउन थारू सङ्ग्रहालय

blog

दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय । तस्बिर : सन्तोष दहित

दाङ समाचारदाता

दाङ, भदौ २३ गते । दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय दाङको मुख्य गन्तव्य बनेको छ । थारू समुदायको कला, संस्कृति र परम्परागत पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बनेको हो । 

सङ्ग्रहालय अवलोकनका लागि हरेक दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ । “बिदाको दिन सङ्ग्रहालय अवलोकन गर्न स्कुले बालबालिकाको घुइँचो लाग्छ,” थारू सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीले भन्नुभयो, “अघिपछि पनि दैनिक झन्डै तीन सय जनाले सङ्ग्रहालय अवलोकन गर्न आउँछन् । चाडपर्वको समयमा अवलोकनकर्ताको बढी भिड लाग्छ ।” 

पाँच बिघा क्षेत्रमा रहेको सङ्ग्रहालय २०७० सालमा स्थापना गरिएको थियो । यद्यपि यसको औपचारिक सञ्चालन २०७५ सालदेखि मात्र आएको हो । उपाध्यक्ष चौधरीले अहिलेसम्म सङ्ग्रहालय निर्माणमा २० करोड रुपियाँ खर्च भएको जानकारी दिनुभयो । त्यसमध्ये लुम्बिनी प्रदेश सरकारले तीन करोड ६५ लाख रुपियाँ सहयोग रहेको छ ।

सङ्ग्रहालयमा पूर्वदेखि पश्चिमसम्म फैलिएका थारू समुदायका डङ्गौरा, डशौरी, राना, चितवन्या र पूर्वेली थारूका परम्परागत घर निर्माण गरिएका छन् । यसै गरी पश्चिम तराईमा थारू समुदायको बरघर, मटावा तथा भलमन्साको कचहरी तथा बैठक बस्न लागेको झल्को, विविध नाचगानका तस्बिर र मूर्तिका आकृति बनाइएको छ । थारू समुदायले परम्परागतदेखि प्रयोग गर्दै आएका माछा मार्ने हेल्का, जाल, खोंग्या र डेल्या, सिकार गर्ने हातहतियार तथा लुगा राख्ने भौका र ढक्या पनि सङ्ग्रहालयमा राखिएका छन् । यसबाहेक खटिया, खटौली, बेरी, ढच्या गोन्द्री, धान राख्ने डेह्री, कुठली र भकारी तथा दुलाहादुलही बोक्ने ड्वाला लहरै प्रदर्शन गरिएको छ ।

थारू समुदायको परम्परागत विभिन्न गरगहना, खेतीपातीमा प्रयोग हुने हलोजुवा, कोदालीसमेत राखिएका छन् । सँगसँगै थारू राजा दङ्गीशरणको आकृति र घोडाघोडीको मूर्ति बनाइएको छ । यस्तै खोलामा माछा मार्दै गरेका थारू महिला, पुरुषको परिदृश्यसमेत पोखरी निर्माण गरेर बनाएका छन् । यसै गरी थारू समुदायको मघौटा, छोक्रा, हुर्डङ्ग्या, लठ्वा तथा बर्कालगायत नृत्य झल्किने कलाकृतिसमेत सङ्ग्रहालयमा निर्माण गरिएका छन् ।  “देशभर छरिएका थारू संस्कृति, नाचगान, रीतिरिवाज, रहनसहन झल्काउने पाँच सय वटा आकृति बनाएका छौँ,” उहाँले भन्नुभयो, “एकै ठाउँमा देशभरका थारू समुदायको परम्परागत संस्कृति, रहनसहन एकै थलोमा अवलोकन गर्न सक्ने बनाएका छौँ ।”