• २७ वैशाख २०८१, बिहिबार

चौध सय परिवार अन्धकारमा

blog

खाक्सेवा खोला लघु जलविद्युत आयोजनाको क्षतिग्रस्त विद्युत गृह । तस्बिर सौजन्य: कैलास माबो

ताप्लेजुङ, असार १३ गते । ताप्लेजुङको छुट्टाछुट्टै दुई ठाउँमा रहेको विद्युत आयोजनामा पहिरोले क्षति पुर्याएपछि करिव १४ सय परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् आयोजनामा क्षति पुगेपछि जिल्लाको सिरिजङ्घा गाउँपालिकाका दुई र फक्ताङ्लुङ गाउँपालिकाका दुईवटा वडाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।

सिरिजङ्घा गाउँपालिका–५ पेदाङ र वडा नम्बर ६ मामाङ्खे तथा फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन र वडा नम्बर २ खेजेनिमका बासिन्दा अहिले अन्धकारमा बस्न बाध्य भएका छन् । सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबोका अनुसार ७० किलोवाट क्षमताको स्थानीय खाक्सेवा खोला लघु जलविद्युत् आयोजनालाई पहिरोले क्षति पुर्याएपछि गाउँ अन्धकारमय भएको हो । 

दुईवटा वडा अर्थात पेदाङ र मामाङ्खेका करिव सातसय परिवार अहिले बिजुली बत्ती उपभोग गर्नबाट बञ्चित भएका उपाध्यक्ष माबोले जानकारी दिनुभयो । उहाँका अनुसार खाक्सेवा खोला लघु जलविद्युत् आयोजनाको विद्युत् गृह (पावर हाउस) लाई पहिरोले क्षतिग्रस्त बनाएपछि विद्युत् सेवा अवरुद्ध बनेको हो । 

आयोजनाको विद्युत् गृहसँगै ठाउँ–ठाउँमा खम्बा, तारलगायतमा पहिराले क्षति पुर्याएको मामाङ्खेका स्थानीय कैलाश माबोले बताउनुभयो । पहिरोले विद्युत् आयोजनामा क्षति पुर्याएपछि एकसाता अघिदेखि पेदाङ र मामाङ्खेका उपभोक्ता अन्धकारमा बस्नुपरेको माबोले बताउनुभयो । 

यस्तै फक्ताङ्लुङ गाउँपालिकास्थित ६५ किलोवाट क्षमताको मेथेमखोला लघु जलविद्युत आयोजनालाई पहिरोले क्षति पुर्याउँदा सावादिन र खेजेनिमका करिव सातसय परिवार अन्धकारमा बस्न बाध्य छन् । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईंका अनुसार एकसाता अघिदेखि दुईवटा वडाका उपभोक्ता बिजुली बत्ती उपभोग गर्नबाट वञ्चित हुँदै आएका छन् । 

पहिरोले क्षतिग्रस्त लघु जलविद्युत् आयोजनाको पुनः निर्माण नभएसम्म खेजेनिम र सावादिनका उपभोक्ताले अन्धकारमा बस्नुपर्ने अवस्था कायम रहने वडाध्यक्ष चौलागाईंको भनाइ छ । अहिले वर्षाको क्रम केही न्यून भए पनि दुई साता अघिदेखि नै सुरु भएको मनसुनका कारण वर्षा हुने क्रम निरन्तर छ ।