केशव राज भट्ट
वाशुलिङ (बैतडी), भदौ २२ गते । बैतडीको पुर्चाैडी नगरपालिकाका विभिन्न सडक खण्डमा वर्षासँगै पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । खासगरी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड पुर्चाैडी हाट सडक खण्ड पहिरोले बन्द हुँदा समस्या भएको स्थानीयहरु बताउछन् ।
सडक अवरुद्ध भएपछि विद्यालय जाने विद्यार्थीदेखि बिरामी बोकेर अस्पतालतर्फ लाग्ने स्थानीयसम्म हैरानीमा पर्नुका साथै दैनिक जीवन अस्तव्यस्त बनेको वडा नम्बर ८ का गणेश बिष्टले बताउनुभयो । बिष्टले भन्नुभयो, ‘‘सडक बन्द हुँदा यहाँका बिरामीलाई समयमै अस्पताल पुर्याउन सकिँदैन । सामान्य उपचारमा पनि ढिलाइ ढिलाइ भइरहेको छ । ”
यस्तै, हाटका व्यापारी सुरेन्द्र जोशीका अनुसार सडक बन्द हुँदा आवश्यक उपभोग्य सामान ल्याउन कठिनाइ भएको छ । ‘‘गाउँ भित्रिनु पर्ने चामल, तेलजस्ता खाद्यान्न समयमै नपुग्दा उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन् । ” यस क्षेत्रका सडक वर्षा लाग्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । स्थानीयवासी पार्वती बोहरा भन्नुहुन्छ, ‘‘हरेक वर्ष बर्खामा यस्तै हुन्छ । अस्थायी रूपमा मर्मत हुन्छ, तर दिगो समाधान खोजिदैन ।”
तीज, गौरा जस्ता चाँडपर्व मनाएर आउजाउ गर्नेहरु धेरै समस्यामा परेको स्थानीयको भनाइ छ । कामको सिलसिलामा बाहिर जानुपर्ने बाध्यता भएकाहरुले सास्ती भोग्नुपरेको छ । ‘‘सर समान बोकेर बालबालिका, वृद्ध वृद्धा समेतले काम विशेषले बाहिर जानु पर्ने हुन्छ तर बारम्बारको सडकको समस्याले दुर्दशा भोग्नुपरेको छ,” पुर्चाैडी नगरपालिका ०८ का स्थानीय लोकेश साँउदले बताउनुभयो ।
कृषि उत्पादन बजारसम्म पुर्याउन नसक्दा किसानहरू पनि मारमा परेका छन् । खेतमा उत्पादन भएको मकै र तरकारी बिक्री नभई नष्ट हुने अवस्था आएको वडा ७ का किसान करन ऐरीले गुनासो गनुभयो । ‘‘सडक अवरुद्ध हुँदा कृषि उत्पादन बजारसम्म पुर्याउन समस्या भएको छ । यसले स्थानीयले आम्दानी गुमाउनु परेको छ ” उहाँले भन्नुभयो । स्थानीय स्तरमा वैकल्पिक पहुँचमार्ग र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने स्थानीय शिक्षक दिनेश पार्किले बताउनुभयो ।
पुर्चाैडी नगरपालिकाका प्रतिनिधिहरूले सडक मर्मत र दिगो संरचना निर्माणका लागि प्रयास भइरहेको जानकारी दिनुभएको छ । तर निरन्तर वर्षाका कारण काममा कठिनाइ भएको नगरपालिकाले जनाएको छ ।