• २३ भदौ २०८२, सोमबार

किशोरावस्थामा अर्धबेहोसीपनको चुनौती थपिँदै

blog

बागलुङ नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रमका सहभागीहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ २२ गते ।
एकै दिन विद्यालयका चारदेखि पाँच जनासम्म विद्यार्थीमा अर्धबेहोसीपनको अवस्था देखिएपछि ‘विद्यालय नर्स’ले हेरचाह गर्नुपर्ने हुन्छ । ‘‘अभिभावकलाई अर्ध बेहोसीपनबारे जानकारी गराउँदा पत्याउनु हुँदैन’’ बागलुङ नगरपालिकाकी विद्यालय नर्स सबिता ज्ञवालीले भोगाई सुनाउँदै भन्नुभयो ।

नगरपालिकाले नगरक्षेत्रका पाँच विद्यालयमा विद्यालय नर्सको व्यवस्था गरेको छ । उहाँहरुले सेनेटरी प्याड वितरण, खोप, औषधी, नियमित स्वास्थ्य परीक्षण, किशोरीहरुलाई महिनावारी लगायतका विषयमा परामर्शको काम विद्यालय नर्सले गर्नुपर्छ । तर एकाएक विद्यार्थीमा अर्धबेहोसीपन आउँदा तनाबमा काम गर्नुपरेको ज्ञवालीले बताउनुभयो ।

कतिपय किशोरीले अनौठो व्यवहार पनि देखाउँछन् । कोही त बिरामी नै पर्छन् । ‘‘तपाईको छोराछोरीलाई मनोसामाजिक परामर्श गराउनुपर्छ भनिदियो भने अभिभावकले पत्याउँदैनन्’’ नगरपालिकाले स्वास्थ्य संस्था, विद्यालय नर्स र अन्य क्षेत्रमा क्रियाशिल स्वास्थ्यकर्मीको सहभागितामा आयोजना गरेको समीक्षामा बोल्दै ज्ञवालीले भन्नुभयो, ‘‘अर्धबेहोसीपनको समस्या देखिँदा विद्यालयमै परामर्श गराउने र नभएमा अभिभावकमार्फत मनोसामाजिक परामर्शकर्तालाई भेटाउने काम भएको छ ।’’

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले यस्ता समस्या प्रायः किशोरीहरुमा भैरहने बताइनुहुन्छ । ती किशोरीहरुको मनोसामाजिक विमर्शद्वारा मानसिक उपचार गर्ने, नभएमा औषधीउपचार समेत गर्नुपर्ने शर्माको भनाइ छ ।

अघिल्लो वर्ष तमानखोला गाउँपालिका– ४ को लामेलाको एक विद्यालयमा अध्ययन गर्ने किशोरीहरुमा अर्धबेहोसीपनको समस्या देखिएको थियो । उमेर अवस्था, शरीरमा आएको फरकपना, घरायसी समस्याले केही अप्ठ्यारो परिस्थिति आउने र मनमा लागेका कौतुहलता पोख्ने अवसर नपाएका किशोरीमा अर्धबेहोस समस्याको रुपमा देखापरेको शर्माले जानकारी दिनुभयो । ‘‘यो समस्या गाउँभन्दा सहरमा बढी हुने गरेको हो । तर कतिपय विद्यालय वा अभिभावकले सहजै बाहिर ल्याउन चाहदैनन्’’ शर्माले भन्नुभयो । 

सबै स्वास्थ्य संस्थाको प्रगती समेत प्रस्तुतीकरण गरिएको थियो । तर अन्य प्रस्तुती भन्दा किसोरकिसोरीमा आएको समस्या बारेको प्रस्तुतीले धेरैको ध्यान खिचेको थियो । उनको प्रस्तुती बारे अन्य स्वास्थ्य संस्थाका प्रतिनिधिहरुले पनि चासो राखेका थिए ।

समीक्षामा हरेक स्वास्थ्य संस्थाले वर्षभरी दिएका सेवाबारे प्रस्तुतीकरण गरेका थिए । कतिपय स्वास्थ्य संस्थाका प्रमुखले वर्षौदेखि भवन मर्मत, नियमित सेवाको उपचार गर्दागर्दै नविनतम काम गर्न नसकेको गुनासो पोख्नुभएको थियो भने कतिपयले बर्थिङ सेन्टरमा उपकरण अभाव भएको, दक्ष प्रसुतीकर्मीको व्यवस्था भएपनि अन्य सेवाका लागि दक्ष स्वास्थ्यकर्मी बनाउने काम नभएको टिप्पणी गर्नुभएको थियो ।

नगर स्वास्थ्य शखाका प्रमुख रामप्रसाद खनालले भने नगर अस्पताल बन्न नसक्दा आफ्नै संरचनामा प्रभावकारी सेवा प्रवाह गर्न नसकेको बताउनुभयो । अस्पताल निर्माणलाई गति दिन नगरप्रमुख सहितका जनप्रतिनिधिले चासो दिनुपर्नेमा खनालको जोड थियो ।