सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, भदौ २१ गते । मध्य भोटेकोशी जलविद्युत् आयोजनाले भदौ अन्तिम सातादेखि व्यावसायिक उत्पादन गर्ने भएको छ । सिन्धुपाल्चोककै सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको आयोजनाले भदौ १६ देखि परीक्षण उत्पादन गरिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेर अनुमति दिएपछि व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्न लागेको उक्त आयोजनाका कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले जानकारी दिनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको बाह्रबिसे सबस्टेसन पूरा नभएका कारण सो आयोजनाले उत्पादन गरिरहेको विद्युत् ४० किलोमिटर ट्रान्समिसन लाइनमार्फत नयाँ खिम्ती सबस्टेसनमा पु¥याएको छ । त्यसमा मध्य भोटेकोशीको २२० केभी पावर सिधै खिम्ती सबस्टेसनको चार सय केभी पावरमा जोडिएको शिवाकोटीले बताउनुभयो ।
खिम्तीबाट ढल्केश्वर हुँदै राष्ट्रिय प्रसारणको ग्रिडमा विद्युत् जाने छ । आयोजनाको तीन वटा टर्वाइनमध्ये एउटा सञ्चालन गरेर परीक्षण उत्पादन भइरहेको छ । वार्षिक ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुने र त्यसबाट पौने तीन अर्ब रुपियाँभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ ।
आयोजना निर्माण सुरु भएको १४ वर्षपछि उत्पादन हुन लागेको हो । निर्माण पूरा हुँदा १२ अर्ब ३३ करोड २८ लाख लागत अनुमान गरिएकोमा १४ वर्षसम्म आयोजना निर्माण सम्पन्न नहुँदा २२ अर्ब लागत भएको आयोजनाले जनाएको छ । निश्चित समयमा आयोजना पूरा गर्न नसक्दा उसले अहिले ऋणको दैनिक ५० लाख ब्याज तिरिरहेको छ ।