गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २१ गते । खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अबदेखि अनलाइनबाट गर्न सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य उद्योग दर्ता, सिफारिस, अनुमतिपत्र जारी र नवीकरणका सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाद्य उद्योग दर्ता, अनुमतिपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
विभागका सेवालाई ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउने उद्देश्यले यो प्रणाली खाद्य उद्योगी व्यवसायीको सहजताका लागि सञ्चालनमा ल्याइएको पनि उहाँले जानकारी दिनुभयो । खाद्य उद्योगको नमुना ल्याउनेबाहेक अरू कार्यका लागि विभाग धाउनुपर्ने अवस्थाको अन्त्य भएको महानिर्देशक कर्णले बताउनुभयो ।
विभागले ऐनमा भएको व्यवस्था अनुसार विभागबाट उपलब्ध हुने सेवालाई क्रमैसँग चुस्त, दुरुस्त बनाउन विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था रहेको छ । विभागले सोही व्यवस्थाबमोजिम सिफारिस लिनुपर्ने, खाद्य उद्योगले अनुमतिपत्र लिनुपर्ने र अनुमतिपत्रको नवीकरणको प्रक्रिया एवं मान्य अवधिको व्यवस्था गरिएको छ ।
यसले उद्योगी व्यवसायीले घर तथा कार्यालयमै बसेर लगइन आइडी बनाई उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी र नवीकरणका लागि आवश्यक कागजात नेफिल्समा भर्न सकिने जनाइएको छ ।
विभागका अनुसार यस प्रणाली देशभर नै लागु गर्ने विभागको योजना छ । हाल विभाग र विभाग अन्तर्गतको हेटाँैडा कार्यालयबाट सेवा सुरु भएको भइसकेको जानकारी दिइयो । विराटनगर, जनकपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि असोजको पहिलो हप्ताबाट सेवा सुचारु गर्ने गरी तयारी गरेको विभागले जनाएको छ ।
त्यसका लागि कर्मचारीलाई तालिम, प्रशिक्षण दिने काम भइरहेको उहाँको भनाइ छ । नेफिल्स प्रणालीले कामलाई छिटो र पारदर्शी बनाउने बताउनुभयो । विगतमा तीन महिनादेखि छ महिनासम्म लाग्ने काम अब बढीमा १५ दिनभित्र हुने विभागका महानिर्देशकको कर्णको दाबी छ ।