राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), भदौ २० गते । स्याङजाको वालिङ नगरपालिकाले आँधीखोलाको दुबै तर्फ करिडोरले बनाइरहेको छ । झण्डै पाँच बर्ष अगाडिबाट सुरु भएको करिडोर निर्माणलाई पछिल्लो समय तीव्रता दिइएको हो । करिडोरअन्तर्गत कतै कालेपत्रे समेत भइसकेको छ भने कतै ट्रयाक खन्ने काम भइरहेको छ ।
नगरपालिकाले आफ्नो गौरवको योजनाको रुपमा अघि सारेको आँधीखोला करिडोरको केही भाग कालेपत्रे भए पछि स्वरुप नै फेरिएको छ । कालोपत्रे भइसके पछि सडकलाई राम्रो र व्यवस्थित गराउन सडक छेउमा फूल तथा अन्य बिरुवा रोप्ने काम सुरु गरिएको स्थानीय व्यवसायी सुरेस श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो,“थोरै भागमा गरिएको कालोपत्रेले भविष्यमा करिडोर कस्तो हुन्छ भन्ने छनक देखाएको छ, सडकलाई हामी सके जति राम्रो बनाउन लागेका छौं ।”
कालोपत्रे गरिए पश्चात बिहान र साँझ घुमफिर गर्नेको भिड नै लाग्ने गरेको छ । कतिपय भने टिकटक र फोटो खिच्नका लागि आँधीखोला करिडोरमा पुग्ने गरेको स्थानीय अशोक तिवारीको भनाइ छ । सडकले वालिङको स्वरुप नै फरिदिएको उहाँले बताउनुभयो ।
नगरपालिकाभित्र झण्डै आठ किलोमिटर लम्बाई रहेको आँधीखोलाको दाँयाबाँया दुवैतर्फबाट करिडोर डोरेटो तयार भइरहेको छ । अधिकांश भागमा सडकको डोरटो तयार भएको नगरप्रमुख कृष्ण खांणले बताउनुभयो । दुबै डोरेटो निर्माणसँगै नाली तथा कालोपत्रे गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
करिडोरको झण्डै १६ किलोमिटर सडक निर्माण गर्ने पालिकाको योजना छ । पहिलो चरणमा तीन सय ५० मिटर कालोपत्रे सम्पन्न गरिएको नगरउपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पालिकाले गौरवको योजनाको रुपमा यसलाई अगाडि सारेको छ, हाम्रो कार्यकालमा नै यसको निर्माण सम्पन्न गर्ने योजना छ ।”
सङ्घीय सरकार र पालिकाको समान लागत साझेदारीको आधारमा पहिलो चरणमा सडक कालोपत्रे गरिएको ईन्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई करोड ९० लाखबाट कालोपत्रेको काम गरिएको हो ।
सिद्धार्थ राजमार्ग तथा अन्य भित्री सडकको विकल्पका रूपमा ‘आँधीखोला करिडोर’ लाई हेरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । थोरै ठाउँमा गरिएको सडक कालोपत्रेले वालिङको स्वरुप फेरिएको उहाँको भनाइ छ ।