• १३ साउन २०८१, आइतबार

एमाले आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १२ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको आर्थिक वर्ष २०७९–८० को बजेटले समग्र नेपालीको हितमा नदेखिएको आलोचना गर्नुभएको छ । यसअघिको सरकारले ल्याएको राम्रो कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिन नसकेको उहाँले गुनासो गर्नुभयो । 

एमाले निकट उद्योग, बाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठकअघि सो विभागका प्रमुखलगायत सदस्यहरूलाई आइतबार निर्देशनात्मक सम्वोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो गुनासो गर्नुभयो ।

आफ्नो हितमा बोल्न उहाँले उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभयो । मर्कामा परेका उद्योगी–व्यवसायीका पक्षमा बोल्न उहाँले निर्देशन दिनुभयो । आर्थिक क्षेत्रका लागि नीति बनाउँदा विभागले राम्रो गृहकार्य गरी सल्लाह सुझाव दिनुपर्ने भएकाले जिम्मेवारी बहन गर्न उहाँले निर्देशन दिनुभयो । 

एमालेले लिने नीति भनेको राष्ट्रिय नीति हुनुपर्छ । हाम्रो नीति राष्ट्रिय नीति हुनुपर्छ अध्यक्ष ओलीले थप्नुभयो, “राष्ट्रलाई नेतृत्व गर्नुपर्छ, सरकारलाई नेतृत्व गर्नुपर्छ, उद्योग होस वा बाणिज्य क्षेत्रमा जुनसुकै पार्टीको सरकार भएपनि हामीले अरुको भन्दा उन्नत, सही, उपयुक्तखालका नीतिहरु लागु गर्नुपर्छ ।”

एमाले आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा रहेको भन्दै विभागलाई आयात निर्भर नभई निर्यात निर्भर अर्थतन्त्रका पक्षमा काम गर्न पनि अध्यक्ष ओलीले सुझाव दिनुभयो ।     

निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण गर्नुपर्ने उहाँको सुझाव छ । अनिवार्य उपभोगका बस्तुहरू र उत्पादन वृद्धिका लागि मात्र आयात गर्ने परिस्थिति सिर्जना हुनुपर्छ उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीले इजरायलले कृषि उत्पादन निर्यात गरिरहेको प्रसंग जोड्दै हामीले पनि अर्गानिक कृषि उत्पादन निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्छौं भन्नुभयो । मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण र रोजगारी सिर्जना गर्ने नीति निर्माणमा उद्योगी व्यवसायीहरू सिर्जनशील र अन्वेषक बन्नुपर्ने उहाँले बताउनुभयो ।  

हामीले आयात प्रतिस्थापन र निर्यातमूलक उद्योग प्रबर्धनमा ध्यान दिनुपर्छ अध्यक्ष ओलीले थप्नुभयो, “उद्योग सञ्चालन इजाजतपत्र प्राप्त गर्ने लगायतका उद्योगी व्यवसायीका विविध समस्या समाधानमा सहजीकरण र सरलीकरणमा ध्यान दिनुपर्छ ।”  

विभागको पहिलो बैठकलाई महासचिव शंकर पोखरेलले पनि सम्वोधन गर्नुभयो । विभागका प्रमुख पार्टीका केन्द्रीय सदस्य मोती दुगडको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।