• १८ भदौ २०८२, बुधबार

युक्रेनमा कब्जा गरिएका भूभागका लागि अन्तर्राष्ट्रिय मान्यता खोज्दै रुस

blog

मस्को, भदौ १८ गते । रुसले अझै पनि युक्रेनका आफ्ना कब्जामा रहेका भूभागलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन खोजिरहेको जनाएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार मस्कोमा प्रकाशित टिप्पणीमा कुनै पनि शान्ति सम्झौतामा ती भूमि ‘रुसी भूभाग’ का रूपमा औपचारिक रूपमा मान्यता पाउनुपर्ने बताउनु भएको छ ।

युक्रेनले भने आफ्नो कुनै पनि भूभागमा रुसी नियन्त्रणलाई कहिल्यै स्वीकार नगर्ने र मस्कोले कब्जा गरेका भूमि पुनः फिर्ता गर्ने अडान लिएको छ । रुसले डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिझिया क्षेत्रका साथै सन् २०१४ मा कब्जा गरेको क्रिमियन प्रायद्वीपलाई आफ्नो भएको दाबी गर्दै आएको छ । लाभरोभले भन्नुभयो, “स्थायी शान्तिका लागि नयाँ क्षेत्रीय वास्तविकताहरू अन्तर्राष्ट्रिय कानुनअनुसार मान्यता प्राप्त र औपचारिक हुनुपर्छ ।”

शान्ति वार्ता र अड्चन

रुसी आक्रमणपछि कब्जा गरिएका भूमि कसको नियन्त्रणमा रहने भन्ने प्रश्न नै युक्रेन-रुसबिचको रोकिएको शान्ति वार्ताको प्रमुख अड्चन बनेको छ । युक्रेनले युद्धविरामलाई प्राथमिकता दिएको छ भने रुसले पूर्ण सम्झौता नभएसम्म आक्रमण रोक्न अस्वीकार गरेको छ । गत हप्ता वार्ता आयोजना गर्ने प्रयत्न गरिरहेको टर्कीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेट्स्क क्षेत्र पूर्णरूपमा छाडेमा दक्षिणी खेरसन र जापोरिझियामा मोर्चा स्थिर राख्ने प्रस्ताव गर्नु भएको थियो ।

रुसी नियन्त्रण र युक्रेनी प्रतिरोध

युद्ध अध्ययन संस्थान (आइएसडब्लु) का अनुसार रुसले लुगान्स्कमा लगभग पूर्ण नियन्त्रण जमाएको छ र डोनेट्स्कको करिब ८० प्रतिशत क्षेत्रमा नियन्त्रण कायम गरेको छ । खेरसन र जापोरिझियाका ठुलो भूभाग पनि रुसी कब्जामा छन्, यद्यपि दुबै क्षेत्रका राजधानी अझै युक्रेनकै नियन्त्रणमा छन् ।

सन् २०१४ मा युरोप समर्थक क्रान्तिपछि पूर्वी युक्रेनमा रुसी समर्थित सशस्त्र पृथकतावादीको विद्रोह सुरू भएको थियो । एक दशकभन्दा बढी लामो द्वन्द्वले युक्रेनको औद्योगिक पूर्वी क्षेत्रलाई ध्वस्त पारेको छ । रासस/एएफपी