• १८ भदौ २०८२, बुधबार

नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै

blog

कमल खत्री 

नेपालगन्ज, भदौ १८ गते । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा आगामी शनिबार देखि यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । 

प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरूको सहभागिता रहने छ । प्रतियोगिता नेपालगन्ज रङ्गशालामा हुने छ । 

विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरूका लागि यो प्रतियोगिता आयोजना गरेका हौँ ।’’

प्रतियोगितामा सहभागिताका लागि अध्यक्ष शाहीले बाँके जिल्ला सम्पुर्ण विद्यालयहरूलाई समेत अनुरोध गर्नु भएको छ । आयोजक मन अनुसार सहभागी हुने विद्यालयको खेलाडीको जन्म मिति २०६८ पुस १७ गते वा सो भन्दा पछि हुने पर्ने छ ।