रेसुंगा, भदौ १८ गते । गुल्मीका युवा ज्योतिष चुरामणि पाण्डेले विपन्न तथा बिरामीको परिवारलाई खाद्यान्न तथा नगद आर्थिक सहयोग गर्नुभएको छ। बाल्यकालबाटै ज्योतिषीको रुपमा पहिचान बनाउनुभएका पाण्डेले विभिन्न घटनाबाट विक्षिप्त धुर्कोट जैसीथोकको एउटा परिवार र क्यान्सर पीडित इस्मा हस्तिचौरको एक परिवारलाई सहयोग गर्नुभएको हो ।
उहाँले धुर्कोट गाउँपालिका ४ जैसीथोकका रामु विश्वकर्माको परिवारलाई खाद्यान्न र नगद गरेर ४५ हजार रुपियाँ बराबरको सहयोग घरमै पुगेर सहयोग प्रदान गर्नुभएको हो । साउन १३ गते कक्षा ५ मा पढ्दै गरेका धुर्कोट गाउँपालिका ४ जैसीथोकका १० वर्षीय अनमोल विक गोठमा मृत भेटिएका थिए । परिवारले खोज्दै जाँदा अनमोलले प्लाष्टिकको पासोमा जीवन गुमाएका थिए । सोही परिवारको माइलो छोरा दुर्घटनामा परेर भारतमा ज्यान गुमाएका थिए ।
रामुका जेठो छोराको खोलामा डुबेर मृत्यु भएको थियो । छोरा बितेको १३ दिनमै आमाको पनि मृत्यु भएको थियो । रामु र ७९ वर्षीय हरिकला विकको परिवारमा परेको चोटका गणना छैन्, अहिले घरमा रामुका बिरामी छोरा सुरज विक र ६ वर्षीया छोरी रहेका छन् । विपन्नता माथिको चोटहरुमा केही सहयोग पुर्याउने उद्देश्यले वडाध्यक्ष वीर बहादुर जोगी कुँवर, स्थानीय युवा समाजसेवी राजन कुँवरसहितको उपस्थितीमा ज्योतिष पाण्डेले खाद्यान्न र नगद सहयोग गर्नुभएको हो । विक परिवारको चोट र विपन्नताको खबर गोरखापत्र र गोरखापत्र अनलाईनमा साउन २२ गते प्रकाशित भएको थियो ।
उहाँले इस्मा गाउँपालिका–१, हर्पुकोटका क्यान्सर पीडित दीपक खत्रीको उपचारका लागि रु २० हजार रुपियाँ नगद घरमै पुगेर आमालाई हस्तान्तरण गर्नुभयो। पाण्डेले समाजमा विपन्न र पीडित परिवारको सहयोग गर्नु मात्र दान नभई मानवीय दायित्व पनि भएको बताउँदै भविष्यमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।