रजनी योगी
सुर्खेत, भदौ १८ गते । कर्णाली प्रदेश सरकारले अन्तरप्रदेश जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । एक प्रदेशबाट अर्को प्रदेश आउजाउमा सहज होस् भने उद्देश्यले सडक निर्माण प्राथमिकतामा राखेको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको छ । जस अन्तर्गत मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक निर्माण गरिने छ । उक्त सडक निर्माणका लागि गत आवमा समेत बजेट विनियोजन गरिएको थियो ।
कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राखेको छ । कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो । प्रदेश सरकारले आव २०७५/७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माण भने आव २०७६/७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माण अघि बढाइएको भए पनि अहिलेसम्म काम सम्पन्न भएको छैन । सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो । पहिलो खण्डका रूपमा मूलपानी–फलाँटे–रानीघाट सडक निर्माणलाई अघि बढाइएको छ । दोस्रो सडकखण्डका रूपमा रानीघाट–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई अघि बढाइएको छ । २०७७ असार ५ देखि २०७८ फागुन १६ सम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको थियो ।
अहिले सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन आइसकेपछि म्याद थपिएको हो । एक पटक म्याद थपेर २०८२ साल माघ २२ सम्म सडक निर्माण गर्ने गरी काम अघि बढाइएको छ । १३ करोड दुई लाख रुपियाँमा निर्देशनालय र थोदुङ जागृति जेभीसँग सम्झौता भएको हो । उक्त निर्माण क्षेत्र वनजङ्गल, निकुञ्जको संरक्षित क्षेत्र भएकाले अहिले निर्माणको काम रोकिएको पूर्वाधार विकास निर्देशनालयले जनाइएको छ ।
प्रदेश सरकारले कालीकोटको खुलालु–लालु–भेरीसाँगु–कुमालगाउँ–एयरपोर्ट–मेहल्मुडी–मुर्मा–रास्कोट–लैफु सडक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । मुगु गमगढी–सेरी–सुकाढिका सडक, हुम्ला कर्णाली र मुगु कर्णाली नदी दोमुख–गमगडी–नाक्चेलाग्ना सडक, बाजुरा–कुवाडी–ताजाकोट–अदानचुली–सर्केगाड सडक निर्माण गर्न लागिएको हो । सल्यान खलङ्गा–कालीमाटी–घुइयाबारी–काप्रेचौर–खर्कवार–कोहलपुर सडक, तालीदेखि रूपपाटन हुँदै खार्वाङ–पूर्वी रुकुम–पोखार जोड्ने सडक, छिनखेत–पूर्वी रुकुम सडक, कुइने–जामु–बाबियाचौर–भक्तरी–जङ्गलघाटलगायतका अन्तरप्रदेश सडक निर्माण गर्न लागिएको हो ।
जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग निर्माण, कोहलपुर–सुर्खेत सडक विस्तार, कोहलपुर–बबई तथा बबई–छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययनलाई कर्णाली प्रदेश सरकारले आफ्नो योजना अघि सारेको छ । योजना कार्यान्वयनका लागि बजेटको व्यवस्था गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । यो वर्ष अन्तरप्रदेश जोड्ने सडक निर्माणका लागि ४९ करोड बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार यो वर्ष सात वटा अन्तरप्रदेश जोड्ने सडक निर्माण गरिने छ । गत वर्ष गरिएको सम्झौताको कार्यान्वयन हुने गरी काम अघि बढाइएको छ ।