गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १८ गते । नेपालयको ‘आर’ शालामा सङ्गीतकार रामकृष्ण दुवालको ‘पलेँटी’ सम्पन्न भएको छ । करिब दुई घण्टा चलेको पलेँटीमा दुवालले सङ्गीत भर्नुभएको एक दर्जनभन्दा धेरै गीत घन्किएका थिए । दाफा गायनबाट कार्यक्रम थालनी गर्नुभएका दुवालले ‘श्यामसुन्दर वसन्त बेला’ बोलको नेपाल भाषाको गीत गाउनुभयो । गीतमा उहाँले प्रदर्शन गरेको नृत्य मुद्राको धेरै दर्शकले खुलेर प्रशंसा गरे । दुवालका रचनालाई नयाँ पुस्ताका दुई जना कण्ठशिल्पी अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले स्वर दिनुभएको थियो ।
पलेँटीको अन्तिम खण्डमा फेरि नेपाल भाषाकै गीत प्रस्तुत गरिएको थियो । यस चरणमा निकै वर्षदेखि लोकप्रिय रहँदै आएको ‘सिर्साया हेकू’ बोलको लोकगीत प्रस्तुत भएको थियो । अभिज्ञा घिमिरेले केही दिनको अभ्यासमा आफूलाई बोल्नै नआउने भाषाको गीत अभ्यास गर्नुभएको थियो । ‘सिर्साया हेकू’ गीत टुङ्गिनासाथ दर्शकदीर्घाबाट तालीको गडगडाहटसँगै उहाँको गीतमा ‘वान्समोर’ को आग्रह ओइरिएको थियो ।
अन्तिम चरणमा नेपाल भाषाका दुई रचना प्रस्तुत भए । ‘हे मन मेले वने छाय्’ बोलको गीत प्रस्तुतिपछि रामकृष्ण दुवालले एउटा ऐतिहासिक रचना सुनाउनुभएको थियो ।