• १६ भदौ २०८२, सोमबार
blog

साधारण सभा उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका कृषि भूमि व्यावस्था तथा सहकारी मन्त्री दिनेश पन्थी । तस्विर : टोपलाल अर्याल

रेसुङ्गा, भदौ १५  गते । गुल्मीकाे तम्घासमा प्रधान कार्यालय रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले २४ वर्षमा ठूलो आर्थिक छलाङ्ग मारेको छ । ‘भनेको मान्ने’ व्यक्तिहरुको सहभागितामा ग्रामीण भेगमा वित्तीय आवश्यकता परिपूर्ति र सदस्यको जीवनस्तर उठाउने उद्देश्यले २०५७ भदौ २७ गते सहकारी स्थापना गरिएको थियो । 

तत्कालिन पाँच गाविसका ३३ जना शेयर सदस्यहरु मिलेर सहकारी गठन गरेका थिए । अहिले शेयर सदस्य संख्या १३ हजार ७९१ पुगेको छ । भने ३३ जनाबाट संकलन भएको १३ हजार २०० रुपियाँ शेयर पुँजी अहिले बढेर १२ करोड ७९ लाख ४२ हजार ५०० रुपियाँ पुगेको छ । त्यस्तै अहिले कुल संस्थागत पुँजी ८९ करोड ८८ लाख २३ हजार ६२३ रुपियाँ रहेको मैत्री सहकारी संस्थाका अध्यक्ष शंकर प्रसाद गौतमले बताउनुभयो । 

आर्थिक वर्ष २०५९/०६० मा डेरी उद्योग र २०६४/०६५ मा लघुवित्त कार्यक्रम संचालन गरेको मैत्रीले दुई वर्षदेखि जिल्लामा इलेक्ट्रोनिक गाडी संचालन गर्न सक्ने अवस्थासम्म पुगेको छ । मैत्री यातयात प्रालि मार्फत जिल्लाका विभिन्न स्थानबाट बुटवलसम्म सेवा दिएकोमा केहि समयमै तम्घास काठमाण्डौ सेवा विस्तार गर्ने योजना सहकारीले बनाएको छ । 

सहकारीको २४ औ साधारण सभाको लुम्बिनी प्रदेश सभाका कृषि भूमि व्यावस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गर्दै सबै सहकारीलाई एकै नजरमा हेरेर व्याख्या गर्न नुहने बताउनुभयो । उहाँले संघियतापछि सहकारीहरुको नियमनमा केही समस्याहरु देखा परेकाले संघ र प्रदेशले कानुन निर्माण गरेर व्यावस्थापनको प्रक्रिया अगाडी बढाइरहेको अवस्थामा स्वअनुशासन र मुल्यमान्यतामा रहेर काम गर्न सबै सहकारीहरुलाई आग्रह गर्नुभयो । मैत्री सहकारीले गरेको आर्थिक तथा सामाजिक क्रियाकलापको प्रसंशा गर्दै पन्थीले सहकारी आन्दोलन र राज्यलाई कमजोर बनाउन गरिएको खेलहरु विस्तारै निस्तेज हुँदै जाने बताउनुभयो ।

मैत्री सहकारीले गुल्मीसहित अर्घाखाँची, रुपन्देही, र कपिलवस्तु जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । संस्थाले एक करोड ७९ लाखको आफ्नै भवन निर्माण गरेको छ । भने १९ पुरुष १९ महिला गरेर ३८ जना कर्मचारीहरु मार्फत कार्यसम्पादन गरिरहेको छ । सहकारीले बचत संकलन तथा ऋण प्रवाह, कृषि उपजजन्य सुपथ मुल्य पसल संचालन, वित्तिय साक्षरता, नेतृत्व विकास लगायतका काम पनि गरिरहेको छ । मैत्री सहकारी संस्थाले मैत्री यातायातदेखि चौराहा अस्पताल, मेडिटेक अस्पताल र हाम्रो डाक्टर्श क्लिनिकमा शेयर सदस्यहरुलाई सेवामा १० देखि सतप्रतिशतसम्म छुटको प्रबन्ध गरेको छ । 

त्यस्तै गत आर्थिक वर्षमा ४२ शेयर सदस्यलाई पन्ध्र सयका दरले सुत्केरी सुविधा, सात जनालाई ५० हजार रुपियाँका दरले जीवन आवास सुविधा, मृत्यु भएका १० जना शेयर सदस्यका परिवारलाई पाँच हजारका दरले सुविधा, शेयर सदस्यको श्रीमान मृत्यु भएका ३९ जनालाई पाँच हजारका दरले सुविधा, आठ जना शेयर सदस्यको घर क्षति हुँदा तीन हजारका दरले सुविधा, छ शेयर सदस्यको गोठ, भकारो र पसल क्षति हुँदा दुई हजार रुपियाँका दरले सुविधा प्रदान गरिएको मैत्री सहकारी संस्थाका सचिव हरि प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।  ऋण सुरक्षण सुविधा १२ जनालाई प्रदान गरिएको छ । 

गत आर्थिक वर्षमा ४१२ शेयर थप र ३५३ शेयरले शेयर फिर्ता भएको पोख्रेलले बताउनुभयो । एक लाख ४९ हजार १५० रुपियाँ बराबरको शेयर सदस्यहरुलाई विभिन्न बिउविजन वितरण, सहकारी शिक्षा, सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक सहयोगहरुको काम गर्दै आएको पोख्रेलले बताउनुभयो । सहकारीको साधारण सभामा उत्कृष्ट केन्द्रको रुपमा खुसीयाली, राधाकृष्ण र उज्यालो महिला केन्द्र पुरस्कृत भएका छन् । त्यस्तै उत्कृष्ट शेयर सदस्यको रुपमा टोपलाल अर्याल, व्यापार तर्फ राम बहादुर टोमटा, नियमित बचतकर्ता यज्ञ प्रसाद पन्थी र बालबचततर्फ किभा अर्याल पुरस्कृत भएका छन् । 

साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापासहित विभिन्न सहकारी र संघसंस्थाका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए । सहकारीको व्यवस्थापकको प्रतिवेदन दिनेश आचार्य, आगामी कार्ययोजना सहकारीको सहकोषाध्यक्ष सरिता सुनार र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन सदस्य बिष्णु प्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो ।

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।