• १४ वैशाख २०८१, शुक्रबार

हर्डल्समा जयरानीको अर्को कीर्तिमान

blog

कीर्तिमानधारी जयरानी थारु । तस्बिर सौजन्य : राखेप

काठमाडौं, असार ११ गते । नेपाल आर्मीकी जयरानी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । दशरथ रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन शनिबार जयरानीले महिला चार सय मिटर हर्डल्स (बाधा दौड) मा १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु भएको हो । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गर्नुभयो । 

पहिलो दिन शुक्रबार पनि जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रच्नुभएको थियो । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो । शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाउनु भएको थियो । उहाँले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गर्नुभएको थियो । 

जयरानीले कीर्तिमान बनाएको स्पर्धामा आर्मीकै निर्मला थापाले १ मिनेट ०८.७ सेकेण्डमा पूरा गर्दै रजत जित्नुभयो । एपीएफकी कल्पना श्रेष्ठले १ मिनेट ०९.७ सेकन्ड समयसहित कांस्य जित्नुभयो। जयरानीले महिला लङजम्पका पनि स्वर्ण जित्नुभयो । जयरानीले ५.१३ मिटर जम्प गरिन् । एपीएफकी शिला चौधरी ५.०३ मिटरसहित दोस्रो, नेपाल पुलिसकी शिमा चौधरी ४.७८ मिटरसहित तेस्रो हुनुभयो । 

पुरुषतर्फ ६.८५ मिटरका साथ एपीएफका सलिम दिवामले स्वर्ण, आर्मीका शेरबहादुर विष्टले ६.७५ मिटर दुरी फाल्दै रजत र  लुम्बिनी प्रदेशका सुदिप थारुले ६.६५ मिटर सहित कांस्य जित्नुभयो । 

चार सय मिटर पुरुषतर्फ आर्मीका रामप्रसाद थारु स्वर्ण, आर्मीका जीवन थारुले रजत र मधेश प्रदेशका मुकेश थारुले कांस्य जित्न्ुभयो । आठ सय मिटरको पुरुषमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण, आर्मीकै सुनिल सुनारले रजत र पुलिसका तेजबहादुर कार्कीले कांस्य जित्नुयो । महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण, कर्णालीकी राममाया बुढाले रजत र आर्मीकी राधिका श्रेष्ठले कांस्य जित्नुभयो । 

दुई सय मिटरमा एपीएफका शिवराज पार्कीले स्वर्ण, कर्णालीका दिल्ली भण्डारीले रजत र एपीएफका आशिष चौधरीले कांस्य जित्नुभयो । महिलामा आर्मीकी सरस्वती चौधरीले स्वर्ण, एपीएफकी रमिता कुमारी थारुले रजत र बागमतीकी लुलजा अमात्यले कांस्य जित्नुभयो ।