अमरराज नहर्की
तनहुँ, चैत १७ गते । तनहुँमा आयोजित पाँचौँ शुक्लागण्डकी महोत्सवको अवसरमा आयोजित अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि नवलपुरको बौदीकाली गाउँपालिका र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका भिड्ने भएका छन् ।
सेमिफाइनल खेलमा अर्जुनचौपारीले स्याङ्जाकै पुतलीबजार नगरपालिकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । अर्को सेमिफाइनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ लाई ३–२ को सेटमा हराउँदै बौदीकालीले फाइनलमा अर्जुनचौपारीसँगको भेट पक्का गरेको छ ।
प्रतियोगिता संयोजक उपेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलबार बिहान तेस्रो र चौथो स्थानका लागि पुतलीबजार र शुक्लागण्डकीबिच प्रतिस्पर्धा हुनेछ । त्यसलगत्तै बिहान ११ बजे फाइनल खेल सञ्चालन गरिने कार्यक्रम रहेको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी महोत्सवमा गरिएको यस प्रतियोगितामा ११ समूहको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तृतीय हुनेले ५० हजार र चौथो हुने समूहले २५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, डिफेन्डर, ब्लकर, प्रशिक्षक र उत्कृष्ट सर्भरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल मङ्गलबार हुँदैछ ।