• १४ वैशाख २०८१, शुक्रबार

मैत्री खेलमा एनआरटीले सङ्कटालाई हरायो

blog

एनआरटी र संकटाबीच दशरथ रंगशालामा भएको प्रतिस्पर्धा । तस्बिर : गोरखापत्र

काठमाडौं, असार ११ गते । ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र सङ्टाक क्लबबीचको मैत्रीपूर्ण खेलमा एनआरटी विजयी भएको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा एनआरटीले सङ्कटालाई ३–२ गोलले पराजित गरेको हो । एनआरटीले प्रिसिजन टुरका लागि मलेसिया र थाइल्याण्ड भ्रमण गर्नुअघि सङ्कटासँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो । 

प्रतिस्पर्धात्मक खेलमा एनआरटीको जितमा रन्जित धिमालले पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । स्टेफेन समिरले ५८औं र दीपेश घलेले ६०औं मिनेटमा गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता सङ्कटाले लिएको थियो । संकटाका आशिष सुमनले १५औं र मोसेसले ४७औं मिनेटमा गोल गर्नुभएको थियो । 

एनआरटी क्लब अहिले मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप खेल्ने तयारीमा छ । टीवाईटी कपमा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग र इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

एनआरटीले कारोसँग पहिलो खेल जुन ३० पेनाङसँग जुलाई २ मा खेल्नेछ । यस प्रतियोगितामा विजेताले १० हजार र उपविजेता टोलीले पाँच हजार मलेसियन रिङगेट पुरस्कार पाउनेछ । मलेसियापछि एनआरटीले थाईल्याण्डमा तीनवटा मैत्रीपूर्ण खेल खेल्ने समेत क्लबले जनाएको छ ।