• १४ वैशाख २०८१, शुक्रबार

आयोजक मलेसियालाई हराउँदै यूएई च्याम्पियन

blog

फाइनलमा मलेसियालाई हराएपछि खुशी मनाउँदै यूएईका खेलाडी । तस्बिर : एसीसी

काठमाडौं, असार ११ गते । आयोजक टोली मलेसियालाई फाइनलममा पाँच विकेटले पराजित गर्दै एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेटको उपाधि संयुक्त अरव इमिरेट्स (यूएई)ले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा मलेसियाले दिएको एक सय एक रनको विजय लक्ष्य यूएईले १८.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । 

यूएईको जितमा थिर्था सतिसले सर्वाधिक ५५ रन बनाउनुभयो । खुशी शर्माले अविजित १३ र कविशा इगोडागेले नौ रन जोड्नुभयो । बलिङमा मलेसियाकी मास एलिसा, निक नुर अतेइला र एइसा एलिसाले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय रन बनाएको थियो । मलेसियाको लागि अइन्ना हसिमले सर्वाधिक २८ रन बनाउनुभयो । अरियना नात्स्याले २५, वान जुलियाले २० र एल्सा हन्टरले १५ रन जोड्नु भएको थियो । 

बलिङमा यूएईकी इन्दुजा नन्दाकुमारले दुई तथा खुशी शर्मा र चया मुघलले एक एक विकेट लिनुभयो । फाइनलमा हारेपनि मलेसियाले बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाएको छ । एसीसीका अनुसार फाइनल पुगेका दुवै टोलीले एसिया कप खेल्नेछन् । यस पटक नेपालका लागि एसिया कप छनोट दुर्भाग्य सावित बन्यो । बर्षाका कारण यूएईसँग शुक्रबारको सेमिफाइनल खेल  रद्द भएपछि नेपाल च्याम्पियनसिपबाट बाहिरिएको थियो । 

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । नेपालले समूह समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको थियो । नेपालको समूहमा भुटान, कुवेत, बहराइन र हङकङ थिए । समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिङ्गापुर र यूएई थिए।