रेसुङ्गा, भदौ १० गते । इस्मा गाउँपालिका–३ दलार्मचौरका ७० वर्षीय नरबहादुर नेपालीले मादल बनाउन थालेको ४० वर्ष भयो । मादल बाहेक डोका, मान्द्रा र चित्राहरु बनाउनुहुन्छ । तर घरखर्चको पहिलो आधार मादल बिक्री हो । नरबहादुरले मादल बनाउन सिक्ने बेलातिर साढे दुई सय रुपियाँ मूल्य थियो । उहाँको उमेरसँगै मूल्य पनि उकालो लाग्यो । अहिले एउटा मादलको मूल्य सात हजारसम्म पर्छ । मादल बेच्नकै लागि इस्माबाट पाँच घण्टाको बाटो हिंडेर तम्घास आएको अनुभव नेपालीसँग छ ।
तम्घास बजार डुल्दा–डुल्दै दिनभरमा १० वटा मादल बिक्थ्याे । मादल बेचेर कमाएको दुई हजार/पच्चिस सय रुपियाँले पनि घरमा चाहिने थुप्रै कुरा किन्न सक्ने बेला थियो । उहाँले भन्नुभयो,“अढाई सयको मादलको मूल्य सात हजारमा पुग्यो तर तिज र तिहारमा बाहेक बिक्न छोड्यो । अहिले महँगीले नेटो काटेकाले थोरै पैसामा केही आउँदैन ।” केही वर्ष पहिले वर्षभरिमा सयदेखि डेढ सयसम्म मादल बिक्री गर्ने नेपालीले अहिले ५० वटा बिक्री गर्न मुस्किल भएको बताउनुभयो ।
तीन पुस्ता नै मादल व्यवसायमा
बाग्लुङ् गलकोट नगरपालिका ४ का ६३ वर्षीय डिलबहादुर नेपालीको तीन पुस्ताले मादल बनाउँछ । डिलबहादुरले १४ वर्षको उमेरबाट मादल, खैजडी, डम्फु र पञ्चैबाजा बनाउन थाल्नुभएको हो । आफूलाई बिरामीले छोप्न थालेपछि छोरा रामु, रवि र बुहारी मिठु नेपालीलाई काम सिकाएपछि व्यवसाय पनि हस्तान्तरण गरेको नेपालीले बताउनुभयो । तम्घासमा करिब ११ वर्ष मादल बनाउँदै आउनुभएका डिलबहादुर अहिले गाउँ फर्किनुभएको छ । गाउँमा छालासहितका सामग्री नपाइने र प्रविधिको विकास तथा दुःखको कामको मूल्य नभए पनि छोराहरु गाउँघरमै बस्ने आशाले पेसा पुस्तान्तरण गरेको डिलबहादुरले बताउनुभयो ।
डिलबहादुरका जेठा छोरा रामु नेपाली करिब डेढ दशक कतार र भारतमा काम गरे पनि अन्तिममा बुवा बाजेकै पेसा अगाडि बढाउँदै हुनुहुन्छ । गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ्, पाल्पा, प्युठानमा समेत गलकोटे मादल पुग्छन् । तिज र तिहारमा मादल बिक्छन्, मर्मतको काम पनि राम्रो हुन्छ । तर प्रत्येक वर्ष व्यापार घट्दै गएको छ । उहाँले भन्नुभयो,“गत वर्ष तिजमा ३० भन्दा बढी मादल बिक्री भए पनि अहिले १५/२० वटा मात्रै पुगे । सबैले डेक बजाएर नाच्न थालेपछि पेसा चौपट बन्न थाल्यो ।” गलकोटे मादल पसलको नामबाट प्रख्यात नेपालीकोमा मादल, खैंजडी, नौमती बाजाका सेट बनाउने तथा मर्मतको काम हुने गर्दछ । न्यूनतम दुई हजार ५०० देखि सात हजार रुपियाँसम्म मादलको मूल्य छ । श्रीमती मिठु र भाइ रवि गरेर तीन जनाले दैनिक मादल र बाजाको काम गर्नुहुन्छ । तीज, दशैं र तिहारमा धेरै मादल बिक्री हुने समय हो । यो पेसा गाउँघरमा प्रायःजसो दलित समुदायका गरिब एवं विपन्न परिवारमा मात्र सीमित छ । तर, सीप जात अनुसार नहुने भएकाले मेहनत गर्न सके परदेश जान नपर्ने नेपालीले बताउनुभयो ।