रेसुङ्गा (गुल्मी), पुस २० गते । गुल्मीको मुसिकोट नगरपालिका–१, थाम बिसौनामा २०६४ र ०८१ मा गरेर १० जनाले पहिरोमा ज्यान गुमाए । तीन दुई वर्षमा पहिरोका कारण मालिका–६, अर्जे र सत्यवती–४, भिरकुना तथा वडा नं. ३ लुम्पेकमा गरी थप १३ जनाको ज्यान गयो । पहिरोमा पुरिएका ती सबै दलित थिए । ती बस्ती मात्र होइन, जिल्लाका अधिकांश दलित बस्ती बिकुना र अप्ठ्यारोमा त छन् नै, साथै पहिरोको पनि ठुलो जोखिममा छन् ।
बिसौनामा पहिरोले घर च्यापेपछि ०६४ भदौमा चोकबहादुर विककी आमा रुन्नती विक, श्रीमती अमृता विक, छोरा कृष्ण र सुरजले ज्यान गुमाउनुभयो । पहिरोको त्रासले ओत खोज्न आएका छिमेकी डल्ली विक र मुना विकले समेत पहिरोमा परेर ज्यान गुमाउनुभयो । चोकबहादुर भारतमा भएकाले बाँच्नुभयो ।
२०८१ साउन २२ गते सोही ठाउँमा फेरि पहिरो गएकाले चोकबहादुरकै आफन्त चार जनाले ज्यान गुमाए । २०६४ को पहिरोमा बाँचेकालाई पनि दैवले चुँडेको विकले बताउनुभयो । पहिरोको जोखिममा रहेका बिसौनाका १४ परिवारले गाउँ छोडेर थाममा बस्न थालेको डेढ वर्ष भयो । अहिले मुसिकोट नगरपालिका र लाभग्राहीको ५०/५० लागत साझेदारीमा थामडाँडा नजिक नौ रोपनी १५ आना जग्गा खरिद गरिएको छ ।
कित्ताको जग्गा अनुसार एक लाखदेखि एक लाख ५० हजार रुपियाँसम्म लाभग्राहीले बुझाएका छन् । लाभग्राही र नगरपालिकाले गरेर ३५ लाखमा जग्गा खरिद गरिएको स्थानीय तथा मुसिकोट नगरपालिका कार्यपालिका सदस्य प्रतिमा केसीले जानकारी दिनुभयो । केसीका अनुसार गाउँ छाडेका १४ घरपरिवारका लागि नगरले गत वर्षदेखि भाडामा घर खोजेर राखिरहेको थियो । ती घरपरिवारको विपत्, निजी आवास प्रबलीकरण पुनर्निर्माण तथा पुनस्र्थापना अनुदानबाट घर निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढेको छ । पहिरोपीडित फूलमती विकलाई चाँडै घर चाहिएको छ । पाँच जनाको परिवार गाउँ छाडेर अरूकोमा बस्न थालेका डेढ वर्ष भयो । बसाइ एकातिर, बारी अर्कातिर हुँदा समस्या धेरै छन् । ऋण खोजेर जग्गाका लागि पैसा बुझाए पनि घर कसले बनाउने भन्ने टुङ्गो नभएको विकको गुनासो छ ।
घरमाथिबाट झरेको पहिरोले मालिका गाउँपालिका–६, अर्जेका भेषबहादुर विकका पाँच जनाले पनि २०८१ असार १५ असारमा एकै ठाउँमा ज्यान गुमाएका थिए । २०७६ साउन ६ गते सत्यवती गाउँपालिका–४, लिम्घाको भिरकुना र वडा नं. ३ को लुम्पेकमा गरेर दलित परिवारका मात्रै पाँच बालबालिकासहित दस जनाले पहिरोकै कारण ज्यान गुमाए । घरमाथिको डाँडोबाट खसेको पहिरोले मस्त निद्रामा रहेका भिरकुनाका कोही पनि ब्युँतिन पाएनन् ।
सत्यवती गाउँपालिका–४, लिम्घाका पूर्ववडाध्यक्ष तथा अगुवा दानबहादुर रानाले भिरकुनामा करिब ८० घर दलित समुदाय लामो समयदेखि भिरकुनाको जङ्गल बस्न थालेको बताउनुभयो । पानी परे घर छाडेर हिँड्नपर्ने बाध्यताका दलित गाउँ थुप्रै छन् ।
गुल्मीका दुई दर्जन दलित बस्ती पहिरोको जोखिममा छन् । मुक्ति समाजका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण विश्वकर्माले जोखिमपूर्ण बस्तीमा मानवीय रक्षा तथा सम्पत्तिको सुरक्षा गर्न राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गराए पनि घटना हुँदा मात्र बहस हुने गरेको बताउनुभयो । उहाँले गत वर्ष बस्ती स्थानान्तरण माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको बताउनुभयो । दलित अगुवा गणेश श्रीपालीले विपन्नता, विभेद र बहिष्करणका कारण धेरै दलित बस्ती जोखिम स्थानमा रहेको बताउनुभयो । राज्यले नै विपत् जोखिम नक्साङ्कन गरी जोखिमयुक्त बस्तीलाई सार्ने तयारी गर्नुपर्ने श्रीपालीको तर्क छ ।