काठमाडौँ, माघ २० गते । नेपालका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले विश्व तेक्वान्दो (डब्ल्युटी) को वर्ष २०२५ को उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड जित्नुभएको छ ।
युएईमा सोमबार लामालाई उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्रदान गरिएको हो । लामा डब्ल्युटीबाट यस्तो अवार्ड पाउने पहिलो नेपाली प्रशिक्षक हुनुहुन्छ । लामालाई पारालिम्पिक र एसियन युथ पारा गेम्समा दिलाएको पदकको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपाल तेक्वान्दो सङ्घमा सन् २०१५ देखि राष्ट्रिय पारा तेक्वान्दो टोलीको स्वयं सेवक प्रशिक्षक रहनुभएका लामाले नेपालका लागि अन्तर्राष्ट्रिय अफिसियल स्तरको १३ पदक जिताउनुभएको छ ।
पारालिम्पिकमा नेपालकी पलेशा गोवर्धनले कांस्य पदक जित्दा लामा प्रशिक्षक हुनुहुन्थ्यो । लामाको प्रशिक्षणमा नेपालले एसियन गेम्सदेखि पारालिम्पिकसम्म र एसियन च्याम्पियनसिपदेखि वर्ल्ड च्याम्पियनसिपसम्म तीन स्वर्ण, दुई रजत र आठ कांस्य पदक जितेको छ ।