सिराज खान
नेपालगन्ज, वैशाख १६ गते । आफूमाथि दुर्व्यवहार, हातपात भएको तथा मार्ने धम्की समेत आएको जनाउँदै भेरी अस्पताल नेपालगन्जका चिकित्सकले ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी मर्कामा परेका छन् ।
चिकित्सकको आन्दोलनका कारण दुई दिनदेखि भेरी अस्पतालको ओपिडी सेवा बन्द रहेकोले टाढा टाढाबाट उपचारका लागि अस्पताल पुगेका बिरामी समस्यामा परेका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिका–६, लालपुर निवासी ६० वर्षीया दिलसरा विकको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि उहाँका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै चिकित्सकमाथि दुर्व्यवहार र हातपात गरेकोले असुरक्षाका कारण काम गर्ने वातावरण नभएको हुँदा ओपिडी बन्द गरिएको भेरी अस्पतालका प्रमुख डा.निराजन सुवेदीले जानकारी दिनुभयो ।
उहाँले बिरामीलाई बचाउने सबै प्रयास र उपचार गर्दा गर्दै पनि मृत्यु भएको घट्नालाई लिएर चिकित्सकमाथि भौतिक आक्रमण गर्ने र ज्यान मार्ने धम्की दिएकोले सुरक्षाको अनुभूति नभएसम्म ओपिडीमा जान नसकिने बताउनुभयो ।
उपचारका लागि बुधबार भेरी अस्पतालमा पुग्नु भएका बर्दिया मैनापोखरका दीपक थापाले ओपिडी बन्द हुँदा जचाउन नपाएको जनाउँदै आफूजस्तै धेरै बिरामी समस्यामा परेको बताउनुभयो ।
सोही प्रकारले डुडुवा कम्दीका रमेश मौर्यले पनि अस्पतालमा उपचारका लागि आएकोमा जचाउन नपाउँदा निजी अस्पतालमा जान थालेको सुनाउनुभयो ।
अस्पतालको ओपिडी बन्द हुँदा थापा र मौर्यजस्ता धेरै बिरामी समस्यामा परेका छन् । अस्पताल पुगेका अधिकांश बिरामीले इमर्जेन्सी विभाग अगाडि भेला भएर ओपिडी सञ्चालन गर्न माग गरिरहेका थिए ।
यसैबिच नेपाल चिकित्सक सङ्घ भेरी शाखाले भेरी अस्पतालका चिकित्सकमाथि भौतिक आक्रमण गर्ने र ज्यान मार्ने धम्की दिएको घटना निन्दनीय भएको जनाउँदै घटनामा संलग्नहरूलाई तत्काल गिरफ्तार गरी कानुनको दायरामा ल्याउन माग गरेको ।
शाखा अध्यक्ष डा. रूपानन्द अधिकारी र सचिव डा. प्रचण्ड गौतमले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र माग पूरा नभए सङ्घमा आबद्ध सम्पूर्ण सरकारी, निजी अस्पताल, क्लिनिकको इमर्जेन्सी बाहेकका सेवाहरू बन्द गर्ने चेतावनी पनि दिइएको छ ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले चिकित्सक र स्वास्थ्यकर्मीहरू बाहिर निस्केर काम गर्ने वातावरण नै नभएको बताउनुभयो ।
मृतक महिलाका छोरा सुरेश विकले उपचारमा लापरबाही गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका छन् भने अस्पतालले पनि धम्की दिने र हातपात गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिएको जनाएको छ ।
उपचारका क्रममा महिलाको मृत्य भएपछि भेरी अस्पताल नेपालगन्जमा सोमबारदेखिनै तनावको अवस्था सिर्जना हुँदै आएको थियो ।
सो समस्या समाधानका लागि बाँके ३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेत अस्पताल पुग्नुभएको थियो । कानुनी प्रक्रियामा जाने सहमति भएपनि चिकित्सकमाथि गरिएको दुर्व्यवहार र हातपातका कारण अवस्था बिग्रिएको अस्पतालले जनाएको छ ।मृतकको शवलाई मङ्गलबार आफन्तले बुझेर अन्तिम संस्कार गरेका थिए ।