• १६ वैशाख २०८३, बुधबार

इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित

blog

वासिङ्टन, वैशाख १६ गते । मध्यपूर्वमा जारी अमेरिका-इजरायल र इरानबिचको तनावपूर्ण द्वन्द्व अन्त्य गर्ने प्रयास नयाँ मोडमा पुगेका बेला वासिङ्टनभित्रै अनिश्चितता गहिरिँदै गएको छ । इरानले अघि सारेको पछिल्लो प्रस्तावप्रति अमेरिकी नेतृत्व सशङ्कित देखिएको छ भने यही सन्दर्भमा पेन्टागन प्रमुख पीट हेग्सेथले बुधबार पहिलो पटक कांग्रेस समक्ष गवाही दिने तयारी गर्नुभएको छ ।

दुई महिनादेखि जारी युद्धका कारण इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण जलमार्ग अवरुद्ध गरेको छ, जसले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा गम्भीर असर पार्दै अन्तर्राष्ट्रिय अर्थतन्त्रमा तरङ्ग पैदा गरेको छ । यस्तो अवस्थामा युद्धविरामतर्फको कुनै पनि पहल निर्णायक बन्न सक्ने भए पनि वासिङ्टनले तेहरानको प्रस्तावलाई सहजरूपमा स्वीकार गर्ने सङ्केत देखिएको छैन । अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी प्रस्तावप्रति सन्तुष्ट नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका विवरणलाई अस्वीकार गरेका छैनन् । 

ह्वाइट हाउसमा आयोजित राजकीय भोजका क्रममा ट्रम्पले इरानलाई ‘सैन्यरूपमा पराजित’ भइसकेको दाबी गर्दै आफ्नो कडा धारणा सार्वजनिक गर्नुभयो । उहाँले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने अडान दोहोर्‍याउँदै बेलायतका राजा चाल्र्स तृतीयसमेत यसमा सहमत रहेको दाबी गर्नुभयो । तर तेहरानको प्रतिक्रिया त्यसको ठीक विपरीत देखिएको छ ।

इरानी सेनाका प्रवक्ताले राज्य टेलिभिजनमार्फत अमेरिकाप्रति कुनै विश्वास नरहेको स्पष्ट पार्दै युद्ध समाप्त भएको नठानिएको बताए । उहाँले आवश्यक परेमा नयाँ रणनीति र प्रविधिको प्रयोग गरी अझ कडा जवाफ दिन सक्ने चेतावनी दिनुभयो । पछिल्ला दिनमा वार्ताको प्रयास प्रभावकारी हुन नसकेको देखिएको छ । उपराष्ट्रपति जेडी भान्स प्रस्तावित वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहनु भए पनि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो । 

इरानको फार्स समाचार एजेन्सीका अनुसार पाकिस्तानमार्फत आएको नयाँ प्रस्तावमा होर्मुज जलघाँटी लगायतका संवेदनशील विषयलाई ‘रेड लाइन’ का रूपमा प्रस्तुत गरिएको छ । उक्त प्रस्ताव अनुसार इरानले जलमार्गमा आफ्नो नियन्त्रण केही खुकुलो बनाउने र त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सम्भावना उल्लेख गरिएको छ । यद्यपि, इरानको आणविक कार्यक्रम जस्तो जटिल विषयमा भने विस्तृत वार्ता जारी राख्ने प्रस्ताव गरिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रस्ताव अपेक्षाभन्दा ‘राम्रो’ भए पनि त्यसको विश्वसनीयतामाथि प्रश्न उठाउनुभयो । विशेष गरी इजरायलले इरानी वरिष्ठ अधिकारीको हत्या गरेपछि प्रस्ताव राख्ने पक्षसँग पर्याप्त अधिकार छ कि छैन भन्ने विषयमा उहाँले आशङ्का व्यक्त गर्नुभयो । उहाँले अन्तिम सहमति भएमा त्यसले इरानलाई आणविक हतियार विकासतर्फ अघि बढ्न रोक्नुपर्ने स्पष्ट पार्नुभयो ।

यता इरानी रक्षा मन्त्रालयका प्रवक्ताले भने अमेरिकाले आफ्ना ‘अवैध र अव्यावहारिक माग’ त्याग्नुपर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय राजनीति परिवर्तन भइसकेको भन्दै अमेरिकाले एकलरूपमा अन्य राष्ट्रलाई निर्देशन दिने अवस्था समाप्त भएको दाबी गरे । मध्यस्थकर्ताको भूमिकामा देखिएको कतारले स्पष्ट समाधान ननिस्किए दीर्घकालीन गतिरोधपूर्ण अवस्था कायम रहन सक्ने चेतावनी दिएको छ । यही अनिश्चितताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः उकालो लागेको छ । 

ब्रेन्ट कच्चा तेलको मूल्य युद्धविराम अघि झरेको स्तरभन्दा माथि पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियटले पनि दुई हप्तापछि पुनः १०० डलर नाघेको छ । युद्ध लम्बिदै जाँदा अमेरिकाभित्र पनि दबाब बढ्दै गएको छ । आगामी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वसाधारणबिच युद्धप्रति असन्तुष्टि बढ्दो देखिएको छ । यस्तो अवस्थामा ट्रम्पमाथि द्वन्द्वबाट बाहिरिने स्पष्ट मार्ग खोज्न दबाब परेको छ । अन्तर्राष्ट्रियरूपमा समेत आलोचना बढ्दै गएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकासँग स्पष्ट रणनीति नभएको टिप्पणी गर्नुभएको थियो, जसको ट्रम्पले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिनुभयो । 

यसैबिच, लेबनान क्षेत्रमा पनि तनाव कायम छ । इरान समर्थित हिजबुल्लाह र इजरायलबिच युद्धविराम विस्तार भए पनि छिटपुट हिंसा जारी छ । लेबनानी सेनाले इजरायली आक्रमणमा आफ्ना दुई सैनिक घाइते भएको जनाएको छ । इजरायलले भने हिजबुल्लाहको गतिविधिलाई युद्धविराम उल्लङ्घन भन्दै विभिन्न क्षेत्र खाली गर्न चेतावनी दिएको छ र ठुलो सुरुङ सञ्जाल ध्वस्त पारिएको दाबी गरेको छ ।

इजरायली विदेशमन्त्री गिदोन सारले आफ्नो देशको लेबनानमा कुनै क्षेत्रीय महत्त्वाकांक्षा नभएको दोहोर्‍याउँदै सशस्त्र समूह निष्क्रिय भएपछि त्यहाँ उपस्थितिको आवश्यकता नपर्ने बताउनुभयो । तर हिजबुल्लाहका नेता नईम कासिमले भने आफ्नो समूहपछि नहट्ने स्पष्ट सङ्केत दिनुभएको छ । रासस/एएफपी