• १९ माघ २०८२, सोमबार

जमुनाहा नाकाबाट तेस्रो मुलुकको पर्यटक आगमन

blog

तेस्रो मुलुकको पर्यटकलाई खुला गरिएको नेपाल–भारत जमुनाहा नाका । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, माघ १९ गते । यहाँस्थित नेपाल–भारत जमुनाहा नाकाबाट तेस्रो मुलुकको नागरिकको आवागमन भइरहेको छ । ६ वर्षपछि आवत–जावत सुरु गरिएको पर्यटक आगमनले उत्साह बढाएको छ । यसअघि कोरोनाकालदेखि तेस्रो मुलुकबाट पर्यटक आउन बन्द गरिएको थियो । 

जमुनाहास्थित अध्यागमन कार्यालय बाँकेका अनुसार तेस्रो मुलुकको नागरिकका लागि हाल आगमन र प्रस्थान पूृर्णरूपमा सञ्चालन गरिएकाले तेस्रो मुलुकबाट आउने जाने पर्यटकलाई आवत–जावत गर्न सहज भएको बताइएको छ ।

अध्यागमन कार्यालय, बाँकेका प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक यो नाकाबाट भारत हुँदै गएको जानकारी दिनुभयो । उहाँले करिब ६ वर्षपछि यो नाकाबाट आगमन र प्रस्थान सुरु भएको बताउनुभयो । 

अध्यागमन कार्यालय, बाँकेकी प्रमुख वलीले भन्नुभयो, “जमुनाहा नाकाबाट आवत–जावत गर्ने कुनै पर्यटकलाई अबदेखि असहज हुने अवस्था हुँदैन, हामीले दिने सबै सेवा सुरु गरेका छौँ ।” 

तेस्रो देशका पर्यटक नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउन जमुनाहा नाकाबाट निर्वाध आवत–जावत गर्न मिल्ने उल्लेख गर्दै प्रमुख वलीले यसबाट पर्यटनको क्षेत्रमा धेरै राम्रो हुने बताउनुभयो । उहाँले यो नाकाबाट आवत–जावत हुने भएपछि यहाँका होटल चलायमान हुने र आर्थिक कारोबार पनि बढ्ने बताउनुभयो । 

पर्यटकको आवागमन सुरु भएपछि तेस्रो मुलुकबाट जमुनाहा नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यकटीय स्थलसम्म पुग्न सक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास गरिएको छ । 

नेपालगन्जका पर्यटन व्यवसायी केशव न्यौपानेले नाकाबाट बन्द रहेको तेस्रो देशका नागरिकको आवागमन पुनः सुचारु भएपछि दुवै देशलाई लाभ हुने उल्लेख गर्दै भारत हुँदै जाने तेस्रो मुलुकको पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताउनुभयो ।

नेपाल एसाेसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले तेस्रो मुलुकको नागरिकका लागि नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गर्दै पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको आनन्द लिनसक्ने बताउनुभयो । 

उहाँले बाँकेमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघलगायत वन्यजन्तुको अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बन्द रहेको आवागमन खुलाउन लामो समयदेखि स्थानीय पर्यटन व्यवसायीले माग गर्दै आएका थिए ।