• २० माघ २०८२, मङ्गलबार

बौद्ध विहारमा महापरित्राण शुत्र वाचन हुने

blog

बागलुङ बजारस्थित रहेको ज्ञानोदय बुद्व विहार । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, माघ २० गते । ज्ञानोदय बुद्ध विहार बागलुङको आयोजनामा दोस्रो महापरित्राण शुत्र वाचन हुनेभएको छ । बौद्ध धर्मअनुसार यो शुत्र वाचनलाई महान ज्ञान महायज्ञको रूपमा लिइन्छ । 

माघ २६ गते हुने महापरित्राणमा देशभरका ६ सयभन्दा बढी भक्तजन र ५० बढी भन्ते गुरुहरू सहभागी हुनुहुने छ । बुद्ध बिहारले मङ्गलबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । 

२६ सय वर्षअघि बुद्वले दिएको प्रवचनलाई सङ्ग्रह गरेर बनाइएको ग्रन्थ ‘त्रिपिटक’ को कथा वाचनलाई नै महापरित्राण भनिन्छ । त्रिपिटकमा सबै जीवको आवश्यकता के हो ? भन्ने ‘शुक्रपिटक’ नियम सङ्ग्रह रहेको विनय पिटक र सम्पूर्ण प्राणीलाई सम्बोधन गरिएको ‘अपिधपिटक’ गरी ३ वटा पिटक सङ्ग्रह गरिएको छ ।

पत्रकार सम्मेलनमा ज्ञानेदय बुद्ध विहारका अध्यक्ष निलाम्बर बज्राचार्य र सचिव रम्भा शाक्यले महापरित्राणको बारेमा जानकारी दिनुभएको थियो । उक्त कार्यक्रमका लागि झण्डै १० लाख रुपियाँ खर्च लाग्ने भएकाले दाताको खोजी गरेर तयारी भइरहेको बज्रालयले बताउनुभयो । 

कार्यक्रममा महेन्द्र भन्तेले बौद्ध दर्शनको महत्त्व, आवश्यकता र सबै धर्म सम्प्रदायका लागि पनि बौद्व दर्शनको आवश्यकताबारे जानकारी गराउनुभएको थियो । झण्डै ४० वर्षअघि बागलुङमै यस्तै महापरित्राण भएको थियो । त्यसपछि पहिलो पटक गर्न लागिएको बज्राचार्यको भनाइ छ । 

यो त्रिपिटकको लेखन गौतम बुद्वको महापरिनिर्माणपछि अर्थात् अशोक सम्राटको पालामा भएको किंवदन्ती छ । उक्त त्रिपिटक लिएर अशोकका छोराहरू महेन्द्रसहित परिवारका सदस्यले श्रीलङ्कासम्म बौद्ध दर्शनको प्रचार गरेको उल्लेख रहेको महेन्द्र भन्तेले जानकारी दिनुभयो ।