• २० माघ २०८२, मङ्गलबार

म्याग्दीमा दलहरुको परम्परागत भोट बैंक संकटमा पर्दै

blog

मुख्य प्रतिस्पर्धी उम्मेदवारहरु । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ १९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको स्वतन्त्र उम्मेदवारीले म्याग्दीको चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ । 

सांगठनिक रुपमा बलिया नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाजस्ता ठुला दलहरूलाई चुनौती दिँदै पुनको उम्मेदवारीले परम्परागत भोट बैंक भत्किन सक्ने आँकलन गरिएको छ, जसका कारण यस पटकको निर्वाचन चार मुख्य उम्मेदवारबिच कडा प्रतिस्पर्धामा केन्द्रित हुने देखिएको छ । 

सांगठानीक रुपमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बलियो भएपनि पुनको स्वतन्त्र उम्मेदवारीले दलहरुलाई चुनौती थपिएको छ । स्वतन्त्रसहित विभिन्न राजनीतिक दलहरु गरेर जिल्लामा ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको भए पनि मुख्य गरी चार जनाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

स्वतन्त्र उम्मेदवार पुनको अन्नपूर्ण गाउँपालिका ८, नांगी पुख्र्यौली थलो हो । दुई दसकभन्दा अघि पुनले नांगी, हिस्तान, पाउद्वार लगायतका वस्तीहरुमा बेतारे इन्टरनेट सञ्जाल विस्तार गरेर इन्टरनेटको सुविधा विस्तार गरेकाले यस क्षेत्रमा उहाँ लोकप्रिय हुनुहुन्छ । डा. पुनलाई निर्वाचनमा मगर समुदायको सहानुभूतिको मत प्राप्त हुने देखिएको छ । 

२०७९ को निर्वाचनमा कांग्रेस–नेकपा माओवादी केन्द्रसहितको गठबन्धनसँग ३ हजार आठसय ३२ मतले पराजित हुनुभएका नेकपा (एमाले) हरिकृष्ण श्रेष्ठ दोस्रोपटक चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । कांग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केबी) लाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । 

अघिल्लो निर्वाचनमा माओवादीसँगको गठबन्धन गरेर कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) ले २४ हजार २१ मत प्राप्त गरेर विजयी हुनुभएको थियो । नेकपाका तर्फबाट युवा नेता अर्जुन थापा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । 

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादी पनि अहिलेको चुनावमा प्रतिस्पर्धामा छ । जिल्लामा ११ जना उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्यगरी यस पटकको चुनावमा कांग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री डा. पुनबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । 

जिल्लामा महावीरको स्वतन्त्र उम्मेदवारीले दलहरुको परम्परागत भोट बैंकलाई भत्काइदिन सक्ने आँकलन गरिएको छ  । पुराना राजनीतिक दल कांग्रेस, एमाले र नेकपालाई यसपाली जित निकाल्न स्वतन्त्र उम्मेदवारीले चुनौती थपिदिएको छ । 

२०७९ को निर्वाचनमा एमालेले पाएको समानुपातिक तर्फको मत हेर्दा जिल्लामा पहिलो शक्ति देखिन्छ । त्यस्तै कांग्रेस दोस्रो र हालको नेपाली कम्युनिष्ट पार्टी तेस्रो देखिन्छ । रास्वपा चौथो दल बनेको थियो । रास्वपाले यसपटक स्वतन्त्र उम्मेदवार महावीरलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि पछिल्लो समय कुरा मिल्न नसकेपछि मत माग्न थालेको छ । 

एमालेले १८ हजार २७३, कांग्रेसले १३ हजार ६९३, हालको नेकपा तत्कालीन माओवादीले ९ हजार ७०, रास्वपाले ३ हजार ५७९ मत प्राप्त गरेका थिए । 

२०७४ को निर्वाचनमा एमालेले माओवादी सँगको चुनावी गठबन्धन गर्दा प्रत्यक्ष तर्फ २३ हजार ३०८ मत प्राप्त गरेर एमालेका उम्मेदवार भुपेडन्द्रबहादुर थापा विजयी हुनुभएको थियो । कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर) ले २० हजार ९८० मत प्राप्त गर्नुभएको थियो । समानुपातिकतर्फ एमालेले १८ हजार २६६, कांग्रेसले १७ हजार ३४८, माओवादीले ४ हजार ३०३ मत प्राप्त गरेका थिए । 

राजनीतिक दलहरुको सांगठनिक अवस्था र अघिल्ला निर्वाचनमा प्राप्त गरेको मतलाई आधार मानेर दलहरुले यस पटकको निर्वाचनमा जित्ने दावी गरेका छन् । जेनजी आन्दोलनपछि राजनीतिक दलहरुप्रति मतदाता असन्तुष्ट रहेकाले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीरको पल्लाभारी हुने केहीले आँकलन गर्न थालेका छन् । तर पार्टीगत रुपमा संगठित कार्यकर्ता भएकाले स्वतन्त्रलाई पनि जित निकाल्न कठिन देखिन्छ । 

एमाले, कांग्रेस, नेकपा र स्वतन्त्र उम्मेदवार बाहेक चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा चुनावी मैदानमा हुनुहुन्छ । 

एक नगरपालिका सहित ६ वटा स्थानीय तह रहेको म्याग्दीमा नेकपा एमालेले बेनी नगरपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका र अन्नपूर्ण गाउँपालिका जितेको छ । कांग्रेसले धवलागिरी गाउँपालिका र रघुगङ्गा गाउँपालिका जितेको छ । कांग्रेससँग चुनावी गठबन्धन गरेर नेकपाले बेनी नगरपालिकामा उपप्रमुख, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष जितेको थियो । 

जिल्लामा ८२ वटा मतदानस्थल र एकसय २० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदान स्थललाई समान्य भनेर बर्गीकरण गरेको छ ।